बिहीबार, वैशाख २०, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०५:४१ |सिड्नीको समय: ०३:४१ |काठमाडौंको समय: २३:२६

विश्वभर तमु ल्होसार पर्व मनाइँदै

एएनजेड खबरडिसेम्बर ३१, २०२३

काठमाडौं । आज सोमबार गुरुङ समुदायमा तमु ल्होसार पर्व मनाइँदैछ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज यो पर्व नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

यसवर्ष गुरुङ समुदायले ‘हि ल्हो’ अर्थात बिरालो वर्गको बिदाइ गर्दै गिद्ध वर्ग ‘मि–ल्हो को स्वागत गर्दैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।

पुस १५ गतेपछि दिन लामो हुँदै जाने भएकाले यो दिनको महत्व रहेको बताइन्छ । यो पर्वको सम्बन्ध सूर्यको किरणसँग जोडिएको छ । गुरुङको बाहुल्य गण्डकी प्रदेशका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते तमु ल्होसार मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप पछि आउने भएकाले माघमा सोनाम ल्होसार र फागुनमा ग्याल्बो ल्होसार मनाइन्छ । तमु ल्होसार पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

ल्होसार पर्व विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुले पनि विविध कार्यक्रम गरी मनाउँदैछन् । तमु धि बेल्जियमले एक समारोहबीच तमु ल्होछार कार्यक्रम लुभेनमा हर्षौल्लास रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारीले गुरुङ तमु समुदायको महान चाड ल्होछार नेपालको सम्पदा भएको उल्लेख गर्दै सबैलाई ल्होछारको शुभकामना दिए ।

यता, नेपालमा पनि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना व्यक्त गरेका छन् । पौडेलले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्नेछ विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्रीले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । तमु ल्होसारका अवसरमा शुभकामना दिँदै उनले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताए ।

तपाइँको प्रतिक्रिया