शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १२:३० |सिड्नीको समय: १०:३० |काठमाडौंको समय: ०६:१५

बालकुमारी घटनाः आरोप प्रत्यारोपमा नेता, अफ्ठ्यारोमा मन्त्री ज्वाला

एएनजेड खबरजनवरी १, २०२४

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरत्सिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रबार ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जना युवाको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताए ।

समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री त्था मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले घटना सम्बन्धित साना कर्मचारीहरुमात्र निलम्बन पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरुको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई र गृह मन्त्रालयलाई निर्देशन दिने र उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रीको भूमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने र यस प्रकारका घटना अब आइन्दा नहोस् भनि सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

सभापति खतिवडाले सुरक्षा निकायलाई आवश्यक श्रोतसाधन पर्याप्त उपलब्ध गराउन पनि निर्देशन दिए । वालकुमारी घट्नाकै विषयलाई लिएर नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । यातायातमन्त्री प्रकाश ज्वाला भने आफ्नो बचाउ गरिरहेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताए । आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको उनले बताए । उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताए । उनले घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे । उनले गृह मन्त्रालयबाट आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताए ।

एमाले अध्यक्ष केपी ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला जिम्मेवार रहेको बताए । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाइ थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताए ।

ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताउनुभएको छ ।

यता, मन्त्री ज्वालाले गत शुक्रबार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताए । मन्त्री ज्वालाले आफू पार्टी केन्द्रिय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिनपनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए । उनले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरु बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भएपनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पारे ।

चार बुँदे सहमति

प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकका परिवार र गृह मन्त्रालयबीच सहमति भएको छ । प्रहरीको गोली लागि अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । गृह मन्त्रालय र मृतकका परिवारबीच सोमबार ४ बुँदे सहमति भएको हो ।

सहमति अनुसार सरकारले मृतकका परिवारको एक जना सदस्यलाई यथाशीघ्र रोजगार उपलब्ध गराउने, थप राहत उपलब्ध गराउन सरकारले सहजीकरण गर्ने, मृतक शाह र राउतलाई सहिद घोषणाका लागि पहल गर्ने र आफन्तले उनीहरूको शव बुझिलिने छन् । मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा लैजान गृह मन्त्रालयले प्रबन्ध मिलाउने सहमति पत्रमा उल्लेख छ ।

सहमतिमा नेपाल सरकारको तर्फबाट गृह मन्त्रालयको उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्र शाहका बाबु टेकबहादुर र सुजन राउतको तर्फबाट उनका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् ।

तपाइँको प्रतिक्रिया