मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: २०:५६ |सिड्नीको समय: १८:५६ |काठमाडौंको समय: १४:४१

पशुपति मन्दिर परिसरको फोटो र भिडियो खिच्न नपाउने सूचनाको व्यापक आलोचना

एएनजेड खबरजनवरी ७, २०२४

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर, आर्यघाट र सन्ध्या आरतीमा फोटो र भिडियो खिच्ने विषयमा प्रकाशित सूचनाको चौतर्फी आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रस्टीकरण दिएको छ ।

निजी कम्पनीलाई मन्दिर परिसरबाहिरको फोटो र भिडियो खिच्ने जिम्मा दिने कोषको निर्णय र ठेक्कामा भएको सम्झौता अधिकारभन्दा बाहिर गएर उक्त कम्पनीले सूचना जारी गरेपछि तीव्र आलोचना भएको हो ।

कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले विज्ञप्तिमार्फत सूचना प्रकाशित गरेको विषयमा कोषको संलग्नता नरहेको दाबी गरेकी हुन् । उनले बुढासुब्बा डिजिटल प्रालिले सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको बताइन ।

बुढासुब्बा डिजिटलले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही छ भन्दै सूचनापाटी राखेको थियो । साथै उक्त कम्पनीले त्यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने चेतावनी पनि दिएको थियो ।

पशुपतिनाथ मन्दिर सार्वजनिकस्थल भएकाले जसले पनि फोटो भिडियो लिन पाउँछ तर कोषबाट एक लाख ६० हजार रुपैयाँमा वार्षिक रूपमा बुझाउने सर्तमा फोटो र भिडियोको ठेक्का पाएको बुढासुब्बा डिजिटलले सर्वाधिकार भएको दाबीसहित सूचनापाटी राखेको हो ।

तपाइँको प्रतिक्रिया