शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:३६ |सिड्नीको समय: १७:३६ |काठमाडौंको समय: १३:२१

विश्वकै ठूलो पर्यटन व्यापार मेलामा नेपालले सहभागिता जनाउने

एएनजेड खबरजनवरी ११, २०२४

काठमाडौं । नेपालले फागुनको तेस्रो साता जर्मनीको बर्लिनमा आयोजना हुने विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ मा सहभागिता जनाउने भएको छ ।

निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टरले बार्लिनमा फागुन २२ देखि २४ सम्म हुने मेलामा सहभागिता जनाउने भएको हो । मेलामा नेपालको तर्फबाट ३७ पर्यटन संस्थाको सहभागिता रहने पाटा नेपाल च्याप्टरले जनाएको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारीकरणका लागि आइटिबी, डब्लुटिएम जस्ता कार्यक्रम अपरिहार्य रहेको र नेपालको उपस्थिति छुटाउन नहुने भएकाले सदस्य संस्था तथा पर्यटन उद्योगका सरोकारवाला संस्थाको मागबमोजिम मेलामा सहभागिता जनाउन लागिएको हो ।

कोरा टुरका प्रबन्ध निर्देशक विजय अमात्यले नेपालको पर्यटन प्रवर्धनको प्रभावकारी बजारीकरण गर्ने उपयुक्त थलो अन्तर्राष्ट्रिय पर्यटनमेला भएकाले नेपाल गन्तव्यको प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘देशको पर्यटनलाई अगाडि बढाउने महत्वपूर्ण विषय भनेको देशको ‘भिजिबिलिटी’ हो । विश्वका पर्यटकलाई नेपाल चिनाउने मुख्य आधार पनि मेला भएकाले नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका व्यवसायी सरोकारवालाका लागि यस्ता फोरम उपयुक्त माध्यम बन्छन् । त्यसैले नेपालको सक्रिय र प्रभावकारी सहभागिता जनाउनैपर्छ,’ उनले भने ।

मेलामा विश्वभरका होटल, टुरिज्म बोर्ड, टुर अपरेटर, सेवा प्रदायक, एयरलाइन्सलगायत कम्पनी सहभागी हुनेछन् । बर्लिनमा मार्चमा वार्षिक रुपमा मेला हुँदै आएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धन र बजारीकरणमा सक्रिय पाटाले गत जुनमा हिमालयन ट्राभल मार्टको चौथो संस्करण सम्पन्न गरेको थियो । विगत वर्षमा नेपाल पर्यटन बोर्डले आइटिबीलगायत अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउँदै आएको थियो ।

तपाइँको प्रतिक्रिया