शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:११ |सिड्नीको समय: १८:११ |काठमाडौंको समय: १३:५६

हत्कडीसहित सार्वजनिक गरिएका ‘तपस्वी’बम्जनलाई थुनामा पठाउन आदेश

एएनजेड खबरजनवरी ११, २०२४

काठमाडौं । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

अनुयायी बेपत्ता, हत्या र यौन हिंसाका अभियोगमा पक्राउ परेका बम्जनविरुद्ध उजुरी रहेको सर्लाही जिल्ला अदालतमा पेस गरिएकोमा बिहीबार भएको सुनुवाईपछि उनलाई थुनामा पठाउन आदेश गरिएको हो ।

जिल्ला अदालतका न्यायाधीश विष्णु रेग्मीको ईजलासमा भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिएका हुन् । बम्जनलाई नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्यूरोले मंगलबार पक्राउ गरेको थियो ।

मंगलबार बेलुकी पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बमजनलाई बुधबार हत्कडीसहित सार्वजनिक गरेको थियो ।

बमजनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनियाँ युआन ५ लाखभन्दा बढी बरामद गरेको प्रहरीको भनाइ छ ।

साथै अष्ट्रेलियन डलर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरेबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् । सीआईबीले बम्जनलाई उनीविरुद्ध उजुरी परेको सर्लाही पठाएसँगै अदालतले थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो ।

तपाइँको प्रतिक्रिया