मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: २२:५८ |सिड्नीको समय: २०:५८ |काठमाडौंको समय: १६:४३

नइ प्रकाशनले ल्याएका चार कृतिको एकसाथ लोकार्पण

एएनजेड खबरजनवरी १२, २०२४

काठमाडौं । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित चारवटा कृतिको एक समारोहविच एकसाथ लोकार्पण गरेका छन् ।

नरेन्द्रराज प्रसाईद्वारा लिखित तथा अणुराज जोशीबाट अङ्ग्रेजी भाषामा अनुदित ‘प्रेमा शाह’ नामक जीवनीकृति लगायत डा. ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त’, नारायणप्रसाद मिश्रबाट रचित कवितासङ्ग्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ नामक जीवनीकृतिको लोकार्पण भएका हुन् ।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा अनुवादक अणुराज जोशी तथा डा.अनिष मुडभरीबाट लोकार्पित कृतिहरुबारे मन्तव्य प्रस्तुत भएको थियो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरु र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गरिन् ।

लोकार्पित कृतिहरुमध्ये ध्रुव शर्मा मुडभरी आफैंले लेखेको ‘लुकेको वृतान्त’ उनका छोरा डा.अनिषको अगुवाइमा प्रकाशनमा आएको हो । ‘बुबाले करिब ५० वर्ष स्वास्थ्य क्षेत्रको सेवामा बिताउनुभयो । कोरोनाका कारण उहाँको देहावसान भयो । उहाँको योगदानलाई अमर राख्ने जमर्को गरेका हौं,’ डा.अनिषले भने ।

लोकार्पण समारोहमा फाउण्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईले सन्तानहरु असल भएनन् भने अग्रजका कृति हराउने गरेको उल्लेख गर्दै ध्रुव शर्माको योगदानलाई जीवन्त राख्न डा.अनिष र मीना मुडभरीले गरेको कर्मलाई प्रशंसा गरिन् । सो अवसरमा फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया