सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १४:५९ |सिड्नीको समय: १२:५९ |काठमाडौंको समय: ०८:४४

दस्तावेज १ : कस्तो छ नेपाल-अष्ट्रेलिया सम्बन्ध ?

सन्तोष खडेरीजनवरी १९, २०२४

नेपालको प्रमुख आर्थिक साझेदारहरूमध्ये एक, पछिल्लो समय धेरै नेपाली विद्यार्थीका लागि शिक्षाको एक प्रमुख गन्तव्य मानिएको मुलुक अस्ट्रेलियासँग नेपालको सम्बन्ध स्थापना भएको ६ दशक पूरा भएको छ । नेपाल र अस्ट्रेलियाबीचको औपचारिक दौत्य सम्बन्ध ६४ वर्ष मात्र पुरानो भए पनि दुई मुलुकबीचको साइनो भने एक शताब्दीभन्दा पनि लामो छ ।

सन् १९१५ मा प्रथम विश्‍वयुद्धको समयमा बेलायती पक्षबाट लडाइँ लड्न पुगेका गोर्खाली सिपाहीहरूले गल्लीपोलीको लडाइँमा अस्ट्रेलिया र न्युजिल्यान्डका पक्षमा लडेका थिए । त्यसको सम्झनामा प्रत्येक वर्ष २५ अप्रिलमा त्यहाँ हुने विशेष सैन्य परेडमा आज पनि गोर्खालीहरूलाई आमन्त्रण गर्ने गरिन्छ । त्यस्तै, अस्ट्रेलिया सरकारले गोर्खाली सिपाहीहरूले आफूहरूलाई पुर्याएको योगदानको सधैँ स्मरण गर्ने गर्दछन् ।

द्वितीय विश्‍वयुद्धको अन्त्यलगत्तै नेपालका तत्कालीन प्रधानमन्त्री महाराज जुद्ध शमशेरले राजर्षि महाराजको रूप धारण गरी गेरु फेटासहित रिडीतर्फ प्रस्थान गरेपछि पद्म शमशेरले महाराजसहित प्रधानमन्त्रीको पद सम्हाले । विसं १९९० मा नेपालमा आएको विनाशकारी महाभूकम्पपछि तत्कालीन महाराज जुद्धले आन्तरिक र केही भारतीय लगानीसहित नेपालमा औद्योगिकीरणको सुरुवात गरेका थिए ।

नयाँ महाराज पद्‍म शमशेरले मुलुकमा बाह्य लगानी भित्र्याएर औद्योगिकीरणको योजनामा थिए । अमेरिकासँग वाणिज्य तथा मैत्री सन्धि गर्नुलाई पद्‍मको त्यही योजनाको उपज थियो भनी त्यतिबेला उनलाई भेटेका बेलायती, अमेरिकी र भारतीय प्रतिनिधिहरूका दस्तावेजबाट थाह हुन्छ । त्यो योजना कार्यान्वयन गर्नै नपाई सत्ता संघर्षको चेपुवामा परी पद्‍म शमशेरले मुलुक छाड्न बाध्य भए ।

पद्मपछि महाराज बनेका मोहन शमशेरले समेत मुलुकको विकासका लागि विदेशी लगानी एवं विदेशी सहायता खोजेका थिए । मोहन शमशेरले सत्ता सम्हाल्नासाथ अस्ट्रेलियाली कम्पनीहरूलाई आफूहरूसँग मिलेर नेपालमा उद्योग स्थापना गर्न नेपालले आह्वान गरेको थियो । युद्धको अन्त्यपछि अस्ट्रेलियाले समेत संसारभर आफ्नो मित्रता र व्यापारलाई द्रुत गतिका साथ फैलाउन चाहेको थियो ।

अस्ट्रेलियाको बाह्य व्यापार वाणिज्यसम्बन्धी जानकारी सार्वजनिक हुने त्यहाँको सरकारी म्यागेजिन ‘ओभरसिज ट्रेडिङ’को १९४८ जुनको अंकमा यसबारे उल्लेख छ, जसमा नेपालले आफूसँगको साझेदारीमा नेपालमा सिमेन्ट, कागज, ऊन, कपडा र जलविद्युत् लगायतका क्षेत्रमा अस्ट्रेलियाली कम्पनीहरूले ५० प्रतिशतसम्मको लगानीमा उद्योग स्थापना गर्न नेपाल सरकारले आह्वान गरेको छ भनिएको थियो । साथै त्यसका लागि नेपालले एकजना सत्तारूढ परिवारकै राणा सदस्यलाई विशेष आयुक्तसमेत नियुक्त गरिएको भन्‍ने थियो, यसैलाई थप बल प्रदान गर्ने गरी त्यसको दुई महिनापछि १ अगस्ट १९४८ मा अस्ट्रेलियाको क्यानबेराबाट अन्तर्राष्ट्रिय समाचार एजेन्सी युपीआईले समेत खबर सम्प्रेषण गरेको थियो ।

त्यसमा समेत नेपालसँगको साझेदारीमा अस्ट्रेलियाली कम्पनीहरूले ५० प्रतिशतसम्म पुँजी लगानी गरी माथि उल्लिखित क्षेत्रहरूमा नेपालमा उद्योग खोल्न नेपाल सरकारले आह्वान गरेको भन्‍ने थियो । अस्ट्रेलियन कम्पनीहरू त्यहाँ पुगेर प्राविधिक सहायता उपलब्ध गराउँदा र नेपालमा अति कम थोरै संख्यामा रहेका शिक्षित जनशक्तिलाई प्रशिक्षण दिई उद्योगका लागि चाहिने दक्ष जनशक्तिसमेत उत्पादन हुन्छन् भन्‍ने थियो ।

भारतीय स्वतन्त्रतापछि राणाकालमा नै भारतमा कूटनैतिक नियोग रहेका विभिन्‍न मुलुकका कूटनैतिक अधिकारीहरूले नेपाल भ्रमण गर्ने गरेका थिए । यसै क्रममा दिल्लीस्थित अस्ट्रेलियाली राजदूत आइभिन गिफार्ड मैके नेपाल आएका थिए, नेपाली भूभागमा पहिलो पाइला टेक्ने अस्ट्रेलियाली नागरिक उनै अस्ट्रेलियन राजदूत रहेका आइभिन गिफार्ड मैके दम्पती हुन्, राजदूत मैके सन् १९४८ को अप्रिल(मे महिनामा भारतमा राजदूत रहँदा नेपाल भ्रमण गरेका थिए, (दी सन सिड्नी अस्ट्रेलिया, १५ जुन १९४८)क्रमश…………. (खडेरीको यो लेख इकागज अनलाइनबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया