बिहीबार, असार ७, २०८१ |Fri Jun, 2024
अक्ल्याण्डको समय: ०४:२३ |सिड्नीको समय: ०२:२३ |काठमाडौंको समय: २२:०८

दस्तावेज २ : कस्तो छ नेपाल-अष्ट्रेलिया सम्बन्ध ?

सन्तोष खडेरीजनवरी २०, २०२४

अस्ट्रेलियासँग नेपालको औपचारिक सम्बन्ध स्थापना नहुँदै सन् १९५४ यता अस्ट्रेलियाले नेपाललाई कोलम्बो प्लानअन्तर्गत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । विभिन्न विधाका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएर अस्ट्रेलियामा तालिम तथा पढ्ने अवसर प्रदान गरेर नेपालको जनशक्ति विकासमा अस्ट्रेलियाले उति बेलैदेखि नै सहयोग गर्दै आएको हो ।

सन् १९५४ मा विभिन्‍न क्षेत्रमा पाँच नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको थियो भने युनेस्कोमार्फत एकजना अस्ट्रेलियाली नागरिकलाई लाइब्रेरियनका रूपमा नेपाल पठाएको थियो । कोलम्बो प्लानको सदस्यको नाताले नेपालले अस्ट्रेलियाबाट सन् १९५८ देखि नै सडक निर्माणका लागि आवश्यक उपकरणदेखि रेडियो उपकरणसम्मको सहयोग प्राप्त गरेको थियो । त्यस्तै त्यो समयमा दिल्लीस्थित अस्ट्रेलियन राजदूतसमेत समय–समयमा नेपाल आउने गरेका थिए । (अस्ट्रेलियाज् पार्ट इन दी कोलोम्बो प्लान प्रोग्रेस रिपोर्ट, १९५८)

अंग्रेज-नेपाल युद्धपछिको सुगौली सन्धिदेखि सन् १९५९ को करिब डेढ शताब्दी लामो समयसम्म नेपालले १० मुलुकसँग मात्र दौत्य सम्बन्ध कायम गरेको थियो । राणाकालको अन्त्य हुँदासम्म बेलायत, अमेरिका, भारत र फ्रान्स गरी चारवटा मुलुकसँग नेपालको सम्बन्ध स्थापना भएको थियो । चीन, शोभियत रुस, जापान, श्रीलंका, इजिप्ट र जर्मनी गरी ६ वटा मुलुकसँग प्रजातान्त्रिक नेपाल (राणा शासनको अन्त्यपछि राजा त्रिभुवनको शासनकालमा कुनै पनि मुलुकसँग वैदेशिक सम्बन्ध स्थापना भएन र सबै ६ वटै राजा महेन्द्रको शासनकालमा भएका हुन्) ले सम्बन्ध स्थापना गरेको थियो ।

सन् १९५९ मे महिनामा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नेतृत्वमा नेपालमा पहिलोपटक जननिर्वाचित सरकारको गठन भयो । उक्त सरकारले निकै द्रुत गतिमा वैदेशिक सम्बन्ध अगाडि बढायो । फलस्वरूप कोइराला सरकारको १८ महिनाको अवधिमा थप १६ मुलुकसँग सम्बन्ध स्थापना भयो । त्यसै क्रममा १५ फेब्रुअरी १९६० मा नेपाल र अस्ट्रेलियाबीच औपचारिक रूपमा सम्बन्ध स्थापना गर्ने परस्पर सम्झौता भयो ।

सम्बन्ध स्थापनाको करिब ११ दिनपछि सोही २६ फेब्रुअरीमा परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री रोबर्ट गोर्डन मेन्जिसले दिल्लीस्थित अस्ट्रेलियन राजदूत वाल्टर रसेल क्रकरलाई नेपालमा समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको घोषणा गरे । अस्ट्रेलियाले कोलम्बो प्लानअन्तर्गत नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग दिल्लीस्थित राजदूतले नै समन्वय गर्ने क्रममा नेपालसँग सम्पर्क स्थापित गर्दै आइरहेको समेत जानकारी गराए ।

साथै प्रधानमन्त्री मेन्जिसले नेपालका लागि अस्ट्रेलियन राजदूतको नियुक्तिबाट नेपाल र अस्ट्रेलिया दुवै सरकारहरूबीचको सम्बन्धमा थप समन्वय गर्न मद्दत पुर्‍याउने विश्‍वास व्यक्त गर्दै तत्काल काठमाडौँमा आफ्नो नियोग खोल्न आफूहरूलाई आवश्यक नलागेको समेत प्रस्ट पारे । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, फेब्रुअरी १९६०)

अस्ट्रेलियाले नेपालका लागि गैरआवासीय राजदूत नियुक्त गरेको दुई दिनपछि सोही २८ फेब्रुअरीमा यता नेपाल सरकारले समेत नेपाल र अस्ट्रेलिया दुवै मुलुकले एक अर्काको मुलुकमा आफ्ना राजदूतहरू खटाउने छन् भन्‍ने घोषणा गर्यो । (अन्तर्राष्ट्रिय समाचार एजेन्सी दी एसोसिएट प्रेस, २८ फेब्रुअरी १९६०)

३१ अगस्ट सन् १९६० मा भारतका लागि अस्ट्रेलियाली राजदूत रहेका वाल्टर रसेल क्रकरले नेपालका लागि पहिलो गैरआवासीय अस्ट्रेलियाली राजदूतका रूपमा तत्कालीन राजा महेन्द्रसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, अगस्ट १९६०)

अस्ट्रेलियाले नेपालमा तत्कालै राजदूत खटाएको भए पनि नेपालले भने त्यसको ६ वर्षपछि मात्र गैरआवासीय राजदूत खटायो । सन् १९६० सम्म बेलायत, भारत र अमेरिकामा मात्र नेपालको आवासीय दूतावास थियो । सन् १९६५ को जुलाईमा नेपालले जापानमा दूतावास स्थापना गर्यो । जापानका लागि प्रथम आवासीय राजदूतमा नियुक्त भएका भरतराज राजभण्डारीलाई अर्को वर्ष नेपालले अस्ट्रेलियाका लागि समेत गैरआवासीय राजदूतको जिम्मेवारी सुम्पियो ।

१६-मार्च १९६६ का दिन अस्ट्रेलियाका तत्कालीन विदेशमन्त्री पल ह्याजलक (पछि अस्ट्रेलियाका १७ औँ गभर्नर जनरल कार्यकाल १९६९÷७४) ले अस्ट्रेलियाका लागि नेपालले पहिलो राजदूतमा भरतराज राजभण्डारीलाई नियुक्त गरेको जानकारी गराउँदै नेपालको उक्त निर्णय स्वागत गरे । साथै उनले सन् १९६० मा दौत्य सम्बन्ध स्थापनापछि दुवै मुलुकले परस्पर रूपमा राजदूत खटाउने निर्णय गरेकामा नेपालका तर्फबाट अहिले भएको बताए । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, मार्च १९६६)

३० मार्च १९६६ का दिन अस्ट्रेलियाका नवनियुक्त नेपाली राजदूत भरतराज राजभण्डारीले अस्ट्रेलियाका तत्कालीन गभर्नर जनरल रिचर्ड केसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे, (दी क्यानबेरा टाइम्स, ३१ मार्च १९६६)क्रमश…………. (खडेरीको यो लेख इकागज अनलाइनबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया