शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:४९ |सिड्नीको समय: १८:४९ |काठमाडौंको समय: १४:३४

‘नाम’को १९औँ शिखर सम्मेलनमा प्रधानमन्त्री के भने ?

एएनजेड खबरजनवरी २१, २०२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा संस्थापक राष्ट्रका रूपमा नेपालको सहभागिता रहनु खुसीको विषय भएको बताएका छन् ।

असंलग्न आन्दोलन ९नाम० को १९औँ शिखर सम्मेलनमा सहभागी हुने क्रममा युगान्डाको कम्पालामा रहेका प्रधानमन्त्री प्रचण्डले विश्वमा थुप्रै समस्या गम्भीररूपले देखापरेका बेला सम्मेलन आयोजना हुनु निकै महत्त्वपूर्ण रहेको बताए ।

उनले भूराजनीतिक जटिलता, रुस–युक्रेन तथा इजरायल–प्यालेस्टाइन युद्ध, कोरोना महामारीबाट विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभाव, जलवायु परिवर्तनका कारण मानव जातिले बहोर्नुपरेका समस्या तथा कम विकसित मुलुकले भोग्नुपरेका चुनौतीका सन्दर्भको सङ्घारमा ‘नाम’ सम्मेलन भएको बताए ।

यी सबै समस्या समाधानका निम्ति नामले पहलकदमी र नेतृत्व लिनुपर्ने उनको भनाइ छ । नामको आवश्यकता र महत्व पहिलेभन्दा बढेको उनको दाबी छ । पश्चिमा देशले कयौँ प्रतिबद्धता व्यक्त गरेपनि पूरा नगरेको उनले बताए । कमविकसित देशको भलाइ वा जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका निम्ति उनीहरूले गरेको प्रतिबद्धता पालना नभएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रतिवद्धता पालना हुनुको सट्टा विभिन्न प्रकारका समस्या सिर्जना भएको उनको भनाइ छ । यस्तो परिस्थितिमा नामले आफ्नो पहलकदमी र नेतृत्व बढाउनुपर्ने उनले धारणा छ । नामले शक्तिशाली आवाज घन्काउनुपर्ने र संयुक्त राष्ट्रसङ्घलाई पनि सोहीअनुसार अघि बढाउन बल गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य भएको र सन् १९५५ मा वाङडुङमा सम्पन्न सम्मेलनबाट नामको बिजारोपण भएको प्रधानमन्त्री प्रचण्डले बताए । त्यतिबेलादेखि नै नेपालले असंलग्न आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएको उनले स्मरण गराए । उनले असंलग्न आन्दोलनसँगको प्रतिबद्धता निरन्तर कायमै रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले असंलग्न आन्दोलनको संस्थापक मुलुकमध्ये कतिपय दक्षिणी मुलुक अहिले विकसित पनि भएका र प्रविधि र अर्थतन्त्रमा उल्लेख्य सफलता हासिल गरेका बताए । उनीहरूका बीचमा आपसी सहयोग पनि बढ्नुपर्ने र असंलग्न आन्दोलन स्थापना गर्दा जुन ‘भावना’ थियो, त्यो कायम हुनुपर्नेमा प्रचण्डको जोड छ । कसैले पनि दोहोरो नीति देखाउन नहुने र आफ्नो धारणा प्रष्ट पार्नुपर्ने उनले बताए ।

एक सय २० भन्दा बढी राष्ट्र संलग्न भएको संस्था जसमा तेस्रो विश्वका विकसित मुलुक पनि सहभागी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सबैले एकीकृत र सङ्गठित ढङ्गले आवाज उठायो भने शान्ति, स्थिरता र मानव जातिको सुन्दर भविष्यप्रति धेरै गर्न सकिने बताए ।

युद्ध र शान्ति जहिले पनि मानव जातिको इतिहासमा निकै नै चुनौतीपूर्ण विषय बन्दै आएको उनले बताए । उनले शान्तिको आवाज जब विश्वभर घन्किने रयुद्ध चाहनेहरु कहीँ न कहीँ पछि हट्नुपर्ने अवस्था सिर्जना हुने गरेको बताए । शान्तिको आवाज विश्वभरबाट असंलग्न आन्दोलनले घन्काउने हो भने युद्धको खतरालाई रोक्न सकिने उनले विचार व्यक्त गरे ।

शिखर सम्मेलनमा दिएको वक्तव्यमा पनि आफूले शान्तिका दूत गौतमबुद्धको देशबाट शान्तिका निम्ति अपिल गर्न आएको छु भनेको स्मरण गराए । जहाँजहाँ युद्ध भएको छ, त्यहाँ वार्ता र संवादका माध्यमबाट शान्तिमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ छ । गौतमबुद्ध जन्मेको देश हुनुका नाताले शान्तिको निम्ति पहल र अपिल गर्ने नेपालको ठूलो जिम्मेवारी रहेको उनले बताए ।

तपाइँको प्रतिक्रिया