शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २२:१० |सिड्नीको समय: २०:१० |काठमाडौंको समय: १५:५५

दस्तावेज ३: राजा महेन्द्रको त्यो राजकीय अष्ट्रेलिया भ्रमण

सन्तोष खडेरीजनवरी २१, २०२४

अस्ट्रेलियाले नेपालको कृषि, पशुपक्षी, वनजंगल, परराष्ट्रसेवा, चिकित्सा, जहाज, इन्जिनियरिङ, रेडियो लगायतका क्षेत्रका जनशक्तिलाई तालिम तथा पढाइको सहयोग निरन्तर रूपमा उपलब्ध गराउँदै आएको थियो । यसै क्रममा अस्ट्रेलियाले यी क्षेत्रमा नेपाली जनशक्तिलाई प्रशिक्षणका लागि भन्दै समय समयमा विभिन्‍न अस्ट्रेलियाली प्राविधिकहरूलाई समेत नेपाल पठाएर प्रशिक्षित गर्दै आएको थियो, सन् १९६६ अक्टोबरमा नेपालमा फरेस्टरहरूको सहयोगसमेत उपलब्ध गराएको थियो । (दी क्यानबेरा टाइम्स, ११ अक्टोबर १९६६)

सन् १९७० को फेब्रुअरी २७ नेपालका तत्कालीन युवराज वीरेन्द्रको शुभविवाह आयोजना भयो । युवराजको विवाह समारोहमा भाग लिन अस्ट्रेलियालाई समेत निमन्त्रणा पठाइएको थियो । उक्त समारोहमा गभर्नर जनरलको प्रतिनिधिका रूपमा पूर्वगभर्नर जनरल रिचर्ड केसीले सहभागिता जनाएका थिए । अस्ट्रेलियाका तत्कालीन परराष्ट्र मन्त्री विलियम मेकम्यान (पछि अस्ट्रेलियाका २० औँ प्रधानमन्त्री कार्यकाल १९७१–७२) ले ३० जनवरीमा रिचर्ड केसी नेपाल जाने बताएका थिए । (दी क्यानबेरा टाइम्स, ३१ जनवरी १९७०)

सोही वर्षको अप्रिल महिनामा अस्ट्रेलियाको क्यानबेरामा ‘चौथो एसियाली न्यायिक सम्मेलन’ सम्पन्‍न भएको थियो, उक्त सम्मेलनमा भाग लिन नेपालका तर्फबाट तत्कालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंह क्यानबेरा पुगेका थिए । (दी क्यानबेरा टाइम्स, ९ अप्रिल १९७०)

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी राजदूत भरतराज राजभण्डारी नेपाल फर्किएपछि उनले परराष्ट्र सचिवको जिम्मेवारी सम्हाले । राजभण्डारी अर्को वर्ष सम्पन्न राजा महेन्द्रको राजकीय भ्रमणका क्रममा परराष्ट्र सचिवका हैसियतले भ्रमण टोलीमा सहभागी थिए । राजभण्डारीपछि नयाँ राजदूतका रूपमा प्रकाशचन्द्र ठाकुर नियुक्त भए, (ठाकुर बर्माबाट राणाकालमा नै नेपाल आएर राणा परिवारसँग विवाह गरी मोहन शमशेरको पालामा बर्मामा पहिलो कनसलेट जनरल नियुक्त भएर नेपालको परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।) २३ सेप्टेम्बर १९७० मा नवनियुक्त राजदूत ठाकुरले अस्ट्रेलियाका लागि गैरआवासीय नेपाली राजदूतका रूपमा त्यहाँका तत्कालीन गभर्नर पल ह्याजलकसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९७०)
सन् १९७१ अप्रिल र मे महिनामा राजा महेन्द्रले चार हप्ता लामो अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण पूर्वी एसियाको भ्रमण गरेका थिए, २ अप्रिलका दिन अस्ट्रेलियाली प्रधानमन्त्री कार्यालयले नेपालका राजा महेन्द्र अस्ट्रेलियाली गभर्नर जनरल पल ह्याजलकको निमन्त्रणामा २३-३० अप्रिलसम्म अस्ट्रेलियाको साताव्यापी लामो राजकीय भ्रमणमा अस्ट्रेलिया आउन लागेको जानकारी सार्वजनिक गरेको थियो । (दी क्यानबेरा टाइम्स, ३ अप्रिल १९७१)

१९ अप्रिलका दिन रानी रत्न, परराष्ट्रमन्त्री गेहेन्द्रबहादुर राजभण्डारी लगायतका अन्य नेपाली अधिकारीहरूसहित राजा महेन्द्र काठमाडौँबाट अस्ट्रेलिया र न्युजिल्यान्डका लागि प्रस्थान गरे । उनी अस्ट्रेलिया जाँदा बाटो पारेर थाइल्यान्डको बैंकक र फिलिपिन्सको मनिलासम्म पुगे । मनिलाबाट २३ अप्रिलका दिन राजा महेन्द्र पहिले सिड्नी पुगे । सिड्नीबाट सोही दिन उनी अस्ट्रेलियाको राजधानी क्यानबेरा ओर्लिए । त्यहाँको विमानस्थलमा नेपालका राजा रानीलाई स्वागत गर्न अस्ट्रेलियाका गभर्नर जनरल पल ह्याजलक आफ्नी पत्नीसहित स्वयं विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री मेकम्यान भने त्यसै समयमा आकस्मिक रूपमा सदनको सामना गर्नुपर्ने भएपछि विमानस्थलमा राजालाई स्वागतका लागि उपस्थित हुन सकेनन् । प्रधानमन्त्री पत्नी श्रीमती मेकम्यान भने उपस्थित थिइन् । त्यस्तै शिक्षा एवं विज्ञानमन्त्री फेयर बायर्नसमेत उपस्थित थिए । क्यानबेरामा राजा गभर्नर जनरलको अतिथिका रूपमा गभर्मेन्ट हाउसमा नै बसेका थिए । सोही दिन अपराह्न राजा महेन्द्रको सम्मानमा कमनवेल्थ पार्लिमेन्ट हाउसमा गभर्नर जनरलले प्रदान गरेको दिवाभोजमा विमानस्थलमा उपस्थित हुन नसकेका प्रधानमन्त्री विलियम मेकम्यान समेत उपस्थित भए । (दी क्यानबेरा टाइम्स, २४ अप्रिल १९७०)

त्यहाँका मन्त्रिपरिषद् सदस्यहरू, सांसदहरूसहित त्यहाँस्थित कूटनैतिक नियोगका पदाधिकारीहरूसमेत उपस्थित दिवाभोजमा अस्ट्रेलियाका प्रधानमन्त्री र नेपालका राजा दुवैले सम्बोधन गरेका थिए । त्यहाँका प्रधानमन्त्रीले नेपालका राजपरिवारको पहिलो अस्ट्रेलिया भ्रमण भएको उल्लेख गर्दै आफ्नो मुलुकमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । साथै उनले प्रथम विश्‍वयुद्धका दौरान गल्लीपोलीको लडाइँमा जनरल मोनासको नेतृत्वमा रहेको अस्ट्रेलियाली सेनाको चौथो ब्रिगेडमा गोर्खाली सिपाहीले पुर्याएको योगदानको स्मरण गरे ।

साथै उनले गोर्खाली सिपाहीको बहादुरीलाई आफूहरूले कहिल्यै नभुल्ने बताउँदै आफूहरूलाई अप्ठ्यारो परिस्थितिमा गोर्खाली सिपाहीले गरेको महत्वपूर्ण योगदानसमेत नभुल्ने बताए । कोलम्बो प्लानअन्तर्गत आफूहरूले नेपाललाई गरिरहेको सहयोगको समेत चर्चा गरे । राजाले आतिथ्य सत्कार र कोलम्बो प्लानअन्तर्गत नेपाललाई गरेको सहयोगप्रति धन्यवादज्ञापन गरे । राजा महेन्द्र २५ अप्रिलको बिहान क्यानबेराबाट ब्रिसबेनका लागि प्रस्थान गरे ।

गभर्नर जनरल आफैँ उपस्थित भएर क्यानबेराबाट राजालाई बिदाइ गरे । ब्रिसबेनबाट राजा मेलबर्नतर्फ प्रस्थान गरे । मेलबर्नबाट पुनः सिड्नी पुगे । ३० अप्रिलका दिन राजाले साताव्यापी आफ्नो अस्ट्रेलियामा भ्रमण सिड्नीमा पुगेर सम्पन्न गरे । सिड्नीबाट उनी न्युजिल्यान्डका लागि उडे त्यहाँ राजालाई बिदाइ गर्न गभर्नर जनरल आफैँ उपस्थित भएका थिए ।

राजा महेन्द्रको अस्ट्रेलिया भ्रमण हुनु केही महिना अगाडि मात्रै फेब्रुअरी १९७१ मा अस्ट्रेलियाले आफ्नो वैदेशिक सहायताअन्तर्गत अन्य मुलुकसहित नेपाललाई समेत दुईवटा डिसी तीन विमान दिने घोषणा गरेको थियो, अस्ट्रेलियाले सहायता प्रदान गर्ने भनेपछि नेपालले आन्तरिक उडानका लागि नेपाल एअरलाइन्समार्फत सञ्‍चालन गर्ने गरी २८ सिटे दुइटा साना विमानको माग गरेको थियो । (दी एज, १५ फेब्रुअरी १९७१) सोही १ सेप्टेम्बरमा नेपालका लागि अस्ट्रेलियन राजदूत प्याट्रिक सले ती दुई विमान नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । (न्यु नेसन सिंगापुर २ सेप्टेम्बर १९७१)

ती विमान वैदेशिक सहायताअन्तर्गत अस्ट्रेलियाले नेपाललाई प्रदान गरेको भनिएको भए पनि पूर्ण सहायता थियो वा आंशिक थियो भन्‍नेबारे भने ती समाचारबाट थाहा हुँदैन । अस्ट्रेलिया भ्रमणबाट फर्केको एक वर्षभित्र नै राजा महेन्द्रको निधन भयो र नयाँ राजाका रूपमा वीरेन्द्रले सत्ता सम्हाले ।

प्रकाशचन्द्र ठाकुर जापान र अस्ट्रेलियाको राजदूतबाट नेपाल फर्किएपछि उनी परराष्ट्र सेवाबाट बर्खास्त भए । नयाँ राजदूतका रूपमा यादवप्रसाद पन्तको नियुक्ति भयो, २९ नोभेम्बर १९७४ मा नवनियुक्त राजदूत पन्तले त्यहाँका तत्कालीन गभर्नर जनरल जोन केरसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे । (दी क्यानबेरा टाइम्स, ३० नोभेम्बर १९७४)

२४ फेब्रुअरी १९७५ का दिन नयाँ राजा वीरेन्द्रको राज्याभिषेक समारोह तोकियो । संसारको एकमात्र हिन्दू अधिराज्य नेपाल र त्यसका एकमात्र हिन्दु राजाको राज्याभिषेक समारोहमा संसारभरका ७० भन्दा बढी मुलुकका प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो । यसै क्रममा अस्ट्रेलियाका गभर्नर जनरललाई समेत आमन्त्रण गरिएको थियो । यसपटक राज्याभिषेक समारोहमा गभर्नर जनरल आफैँ उपस्थित थिए ।

२० फेब्रुअरीमा अस्ट्रेलियाबाट इन्डोनेसियाको बाली हुँदै नेपाल प्रस्थान गरेका अस्ट्रेलियन गभर्नर जनरल जोन केर सोही रात बालीमा बिताएर अर्को दिन २१ फेब्रुअरीमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए, बहालवाला अस्ट्रेलियन गभर्नर जनरल नेपाल आएको हालसम्म त्यो नै पहिलो र अन्तिम घटना हो ।

गभर्नर जनरललाई विमानस्थलमा स्वागत गर्न राजा वीरेन्द्र, प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, प्रधानन्यायाधीश रत्नबहादुर विष्ट, परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय पञ्‍चायतका अध्यक्ष नवराज सुवेदीसमेत उपस्थित थिए । २३ फेब्रुअरीमा उनको र राजाको भेटवार्ता भयो । २६ फेब्रुअरीमा फूलचोकीमा कोलम्बो प्लानअन्तर्गत निर्माणाधीन नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘फ्रिक्वेन्सी रिपिटर प्रोजेक्ट’को अवलोकन गर्न फूलचोकी पुगे । २७ फेब्रुअरीका दिन नेपाल भ्रमण अन्त्य गरी दक्षिण एसियाली अन्य मुलुकको भ्रमणका लागि उनी दिल्ली फर्किए । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९७५) क्रमश…………. (खडेरीको यो लेख इकागज अनलाइनबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया