बिहीबार, असार ७, २०८१ |Fri Jun, 2024
अक्ल्याण्डको समय: ०३:५० |सिड्नीको समय: ०१:५० |काठमाडौंको समय: २१:३५

दस्तावेज ४ : तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रको त्यो अष्ट्रेलिया भ्रमण

सन्तोष खडेरीजनवरी २७, २०२४

सन् १९७५ जुलाई महिनामा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र अधिराजकुमारी कोमलले निजी रूपमा दुई हप्ता लामो अस्ट्रेलिया भ्रमण गरे । उनीहरूका साथ शाही परिवारका सदस्य एवं ज्ञानेन्द्रका काका अधिराजकुमार हिमालयविक्रम र उनकी पत्‍नी प्रिन्सेप शाहसमेत थिए । उनीहरूका साथमा राजदूत यादवप्रसाद पन्त समेत सहभागी थिए । २८ जुलाईका दिन सिड्नीमा ओर्लिएका ज्ञानेन्द्रको टोलीको निजी भ्रमण भए पनि क्यानबेरामा उनीहरूले गभर्नर जनरलको आतिथ्य समेत प्राप्त गरे । ३ अगस्टमा गभर्मेन्ट हाउसमा तत्कालीन गभर्नर जनरल जोन केरसँग भेटवार्ता गरे, गभर्नरले उनीहरूको सम्मानमा भोजको आयोजनासमेत गरे । ज्ञानेन्द्रले दुई हप्ते भ्रमणका क्रममा दक्षिणी अस्ट्रेलियाका वन्यजन्तु आरक्षण केन्द्र, कृषि विश्‍वविद्यालयहरूलगायतको भ्रमण गरे । (दी क्यानबेरा टाइम्स, २८ जुलाई र ४ अगस्ट १९७५)

यादवप्रसाद पन्तको कार्यकाल सकिएपछि अस्ट्रेलियाका लागि नयाँ राजदूतमा योजना आयोगका उपाध्यक्ष रहिसकेका डा. बद्रीप्रसाद श्रेष्ठको नियुक्ति भयो । उनै राजदूत श्रेष्ठले सन् १९८१ को २ अप्रिलमा क्यानबेरामा रहेको गभर्मेन्ट हाउसमा पुगेर त्यहाँका तत्कालीन गभर्नर जनरल जेलमेन कोवेनसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे । (दी क्यानबेरा टाइम्स, ३ अप्रिल १९८१)

सन् १९८४ को अप्रिलमा अस्ट्रेलियाले नेपालमा आवासीय दूतावास स्थापना गर्यो । नेपालमा आवासीय दूतावास स्थापना गर्ने घोषणा सोही १४ मार्चमा तत्कालीन परराष्ट्रमन्त्री बिल हेडनले गरेका थिए । हेडनले आगामी अप्रिलमा अस्ट्रेलियाले नेपालमा दूतावास स्थापना गर्ने बताएका थिए । उनले काठमाडौँमा दूतावास स्थापनाबाट अस्ट्रेलिया र नेपालबीच थप सौहार्द र घनिष्ठ सम्बन्ध कायम रहने, नेपाल भ्रमणमा जाने अस्ट्रेलियाली नागरिकको संख्यामा लगातार वृद्धि भइरहेकाले उनीहरूलाई कन्सुलर सेवा उपलब्ध गराउन त्यस्तै अस्ट्रेलियाले नेपाललाई उपलब्ध गराएको २.६ मिलियन अस्ट्रेलियन डलरको सहयोगको परिचालनमा प्रभावकारी साबित हुने विश्‍वास व्यक्त गरेका थिए ।

अप्रिलमा दूतावास स्थापना भइसकेपछि दिल्लीस्थित अस्ट्रेलियन राजदूत ग्राहम बर्टन फिक्सले सोही ३० नोभेम्बरमा नेपालका राजा वीरेन्द्रसमक्ष गैरआवासीय राजदूतका रूपमा ओहोदाको प्रमाणपत्र बुझाए । दिल्लीस्थित अस्ट्रेलियन राजदूतले दिल्लीबाट नै नेपाल हेर्ने गर्थे त्यस्तै नेपालमा खोलिएको दूतावासको जिम्मेवारी भने ‘चार्ज डे अफेयर्स’लाई सुम्पेको थियो । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९८४)

सन् १९८४ ताका आज जस्तो नेपालीहरू अस्ट्रेलिया जाने चलन थिएन । त्यतिबेला कोलम्बो प्लानअन्तर्गत मात्र नेपाली विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने गर्थे । पर्यटनका रूपमा विकसित हुँदै गरेको नेपालमा भने त्यतिबेला बर्सेनि करिब ५ हजार अस्ट्रेलियन नागरिक नेपाल भ्रमणमा आउँथे । अस्ट्रेलियाले नेपालमा दूतावास खोल्नुभन्दा अघि नेपाल आउने अस्ट्रेलियन नागरिकहरूलाई नेपालस्थित ब्रिटिस दूतावासले कमलवेल्थ राष्ट्रको सदस्यका रूपमा उनीहरूलाई कन्सुलेर सेवा दिन्थ्यो । सन् १९८५ को मे महिनाको दोस्रो साता अस्ट्रेलियाका तत्कालीन परराष्ट्रमन्त्री बिल हेडनले नेपालको दुई दिने भ्रमण गरे ।

अस्ट्रेलियाका बहालवाला परराष्ट्रमन्त्रीले गरेको पहिलो भ्रमण थियो त्यो । सोही वर्षको सेप्टेम्बर १-८ सम्म अस्ट्रेलियाका तत्कालीन गभर्नर जनरल निनियन स्टिफेनको निमन्त्रणामा नेपालका राजा वीरेन्द्रको साताव्यापी लामो राजकीय भ्रमण सम्पन्न भएको थियो । आफ्नो अस्ट्रेलियाको भ्रमण हुनुभन्दा ५० दिन पहिले मात्रै नारायणप्रसाद अर्जेललाई राजाले अस्ट्रेलियाको नयाँ राजदूतमा नियुक्त गरेका थिए । अर्जेलले सोही २१ अगस्टमा ओहोदाको प्रमाणपत्र पेस गरेका थिए, १ अगस्ट १९८५ मा काठमाडौँबाट नेपालले राजाको भ्रमण हुन लागेको जानकारी गराएको थियो ।

त्यस्तै उता अस्ट्रेलियाबाट ८ अगस्टमा अस्ट्रेलियन प्रधानमन्त्री कार्यालयले नेपालको राजाको भ्रमण हुने जानकारी गराएका थियो । राजा वीरेन्द्र अस्ट्रेलिया भ्रमणका लागि ३० अगस्टमा काठमाडौँबाट ब्रुनाई हुँदै त्यता प्रस्थान गरेका थिए । अस्ट्रेलिया उड्नुपूर्व राजाको शाही वक्तव्यमा अन्तर्राष्ट्रिय शान्ति र न्यायको क्षेत्रमा अस्ट्रेलियाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

१ सेप्टेम्बरमा पुगेका उनी त्यसको अर्को दिन २ सेप्टेम्बरमा राजधानी क्यानबेरा ओर्लिए । राजाको भ्रमण दलमा रानी ऐश्‍वर्य, अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी, कुमार खड्गविक्रम शाह, परराष्ट्रमन्त्री रणधीर सुब्बा, राजदरबारका सचिव नारायणप्रसाद श्रेष्ठ, राजाका संवाद सचिव चीरनशमशेर थापा, परराष्ट्र सचिव विश्‍व प्रधान, राजदूत नारायण प्रसाद अर्जेल र परराष्ट्रका विश्‍वेश्‍वरप्रसाद रिमाल थिए । त्यस दिन राजा गभर्नर जनरलको अतिथिका रूपमा गभर्नर हाउसमा रहे । अर्को दिन ३ सेप्टेम्बरमा प्रधानमन्त्री बब हाकसँग राजाको भेट भयो । सोही दिन बेलुकी राजाको सम्मानमा पार्लिमेन्टी डिनरको आयोजना गरियो ।

त्यहाँ प्रधानमन्त्री, मन्त्रिपरिषद्का अन्य सदस्यहरू, सांसदहरू, त्यहाँस्थित कूटनैतिक नियोगका पदाधिकारीसमेत उपस्थित थिए । राजालाई स्वागत गर्दै प्रधानमन्त्री बबले अस्ट्रेलिया–नेपाल सम्बन्ध, गोर्खाली सेनाले प्रथम विश्‍वयुद्धका समयमा अस्ट्रेलियालाई पुर्याएको मद्दत, अघिल्ला राजा महेन्द्रको अस्ट्रेलिया भ्रमण, अस्ट्रेलियाले नेपालमा स्थापना गरेको दूतावास, हालै मात्रै अस्ट्रेलियाका विदेश मन्त्रीको नेपाल भ्रमणसँगै नेपालमा अस्ट्रेलियाले उपलब्ध गराउँदै आएको सहयोगबारे चर्चा गरे । राजाले समेत आतिथ्यका लागि धन्यवाद व्यक्त गर्दै, नेपाल–अस्ट्रेलिया सम्बन्ध, अस्ट्रेलियाली सहयोगका लागि कृतज्ञता व्यक्त गरे । एक साता अस्ट्रेलियामा रहँदा राजा सिड्नी, क्यानबेरा, ब्रिस्बेन र मेलबर्न लगायतका क्षेत्रको भ्रमण गरे । (दी क्यानबेरा टाइम्स, २-४ सेप्टेम्बर १९८५)

राजा वीरेन्द्रको सोही अस्ट्रेलिया भ्रमणसँग नेपाल टेलिभिजन प्रसारणको इतिहाससमेत जोडिएको छ । सन् १९८५ जनवरी ३० मा नेपाल टेलिभिजन स्थापना भएको थियो । सोही १३ अगस्टमा टेलिभिजनले पहिलोपटक परीक्षण प्रसारण सुरु गरेको थियो । त्यतिन्जेलसम्म पनि नेपालमा नेपाल टेलिभिजनको प्रसारण सम्भव हुने–नहुने भन्ने अन्योल कायमै थियो । तर राजा वीरेन्द्रको अस्ट्रेलिया भ्रमणको क्रममा खिचेको भिडियो स्याटालाइटमार्फत काठमाडौँमा प्रसारण गरिएपछि भने नेपाल टेलिभिजन प्रसारणले साकार रूप लियो ।

२ सेप्टेम्बरमा राजा क्यानबेरामा जहाजबाट ओर्लिएर अस्ट्रेलियाली प्रधानमन्त्री बब हाकले स्वागत गरेको त्यस्तै त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग हात मिलाइएको आधा घण्टा लामो भिडियो खिचिएको थियो । काठमाडौँको बलम्बूस्थित स्याटालाइटले रिसिभ गरेपछि काठमाडौँमा वसन्तपुर, गौशाला र रत्‍नपार्क क्षेत्रमा प्रसारण गरिएको थियो, भिडियो खिच्न टेलिभिजनका निर्देशक नीर शाह, पत्रकार दुर्गानाथ शर्मा र क्यामेरामेन श्याम चित्रकार सरकारी टोलीमा नसमेटिए पनि टेलिभिजनमा त्यो दृश्य देखाउने योजनासाथ अस्ट्रेलिया पुगेका थिए । (दी क्यानबेरा टाइम्स ३ सेप्टेम्बर १९८५)

सन् १९८४ मा नेपालमा स्थापना भएको अस्ट्रेलियाली दूतावास त्यसको दुई वर्षपछि सन् १९८६ मा राजदूत स्तरमा स्तरोन्नति गरियो । १९८६ को ४ मेमा त्यहाँका तत्कालीन परराष्ट्रमन्त्री बिल हेडनले नेपालस्थित अस्ट्रेलियाली दूतावासका लागि पहिलो आवासीय राजदूत डायान जोन्स्टनलाई नियुक्त गरिएको जानकारी गराए । साथै उनले नेपाल–अस्ट्रेलिया लामो सम्बन्धमा काठमाडौँमा अस्ट्रेलियाली राजदूतको नियुक्तिबाट दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ हुने विश्‍वास व्यक्त गरे । नेपालका लागि नवनियुक्त अस्ट्रेलियाली राजदूत डायन अस्ट्रेलियाकी छैटौँ महिला राजदूत थिइन् । पहिलो आवासीय राजदूत डायान जोन्स्टन जसले १८ जुलाई १९८६ मा नेपालका राजा वीरेन्द्रसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरिन् । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९८६)

नेपालका तर्फबाट भने अस्ट्रेलियाको क्यानबेरामा मार्च २००७ मा मात्र नेपाली दूतावास स्थापना भएको हो, जसको औपचारिक उद्घाटन सोही सेप्टेम्बर महिनामा भएको थियो । अस्ट्रेलियाका लागि पहिलो नेपाली आवासीय राजदूत भने योगेन्द्र ढकाल हुन् । नेपाल र अस्ट्रेलियाले सन् २०१० मा सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ त्यस्तै सन् २०२० मा ६० औँ वर्षगाँठ मनाएका थिए । सन् २०१६ नोभेम्बरमा नेपालका तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको अस्ट्रेलिया भ्रमण सम्पन्‍न भएको थियो । सोही भ्रमणका क्रममा उनका समकक्षी अस्ट्रेलियन परराष्ट्रमन्त्रीसँग भेटर्वार्ता भएको थियो । सम्बन्ध स्थापनाको पछिल्लो ६१ वर्षमा दुवै मुलुकका तर्फबाट हालसम्म प्रधानमन्त्री स्तरमा औपचारिक भ्रमण भने हुन सकेको छैन ।

अस्ट्रेलियाले विभिन्‍न क्षेत्रमा नेपालको विकासमा सहयोग पुर्याइरहेको छ, नेपालमा सन् १९८५ मा आएको भूकम्प होस् या सन् २०१५ मा आएको अर्को विनाशकारी भूकम्प होस् ती दुवैमा अस्ट्रेलियाले नेपाललाई महत्वपूर्ण सहायता उपलब्ध गराएको छ । त्यस्तै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने मुलुकमध्ये अस्ट्रेलिया दसौँ स्थानमा छ । अस्ट्रेलियाली नागरिकहरू ठूलो संख्यामा बर्सेनि रूपमा नेपाल भ्रमणमा आउने गर्छन् । पछिल्ला दशकमा अध्ययनका लागि अस्ट्रेलिया पुग्‍ने नेपाली विद्यार्थीहरूको संख्यामा वृद्धि भएसँगै अस्ट्रेलियामा नेपाली समुदायको उपस्थितिसमेत बढ्दै गएको छ ।(खडेरीको यो लेख इकागज अनलाइनबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया