शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १६:३५ |सिड्नीको समय: १४:३५ |काठमाडौंको समय: १०:२०

बेलायतमा नेपाली चलचित्रसम्बन्धी बहस

एएनजेड खबरफ्रेब्रवरी १३, २०२४

लण्डन। नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

शनिवारदेखि भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया र चलचित्र प्रदर्शनी, दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमण कार्यक्रम रहेको थियो । यस कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली र नेपाल तथा बेलायतबाट नेपाली चलचित्रकर्मीहरू सहभागी भएका थिए ।

बेलायतको बजारमा नेपाली चलचित्रको उपस्थिति, सम्भाव्यता, जटिलता, नेपाली डायस्पोराले खेलेको भूमिका, राज्यले गरेका प्रयासहरू, राज्यले निभाउनुपर्ने भूमिका, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारको लागि नेपाली डायस्पोरा कम्युनिटीले राज्यबाट गरेको अपेक्षा, नेपालको आर्थिक तथा सामाजिक विकासको लागि चलचित्रको अन्तर्राष्ट्रिय बजारको महत्त्व लगायतका विषयमा अन्तर्क्रिया भएको थियो ।

अन्तर्क्रियामा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले प्रवासमा बस्ने चलचित्रकर्मीलाई नेपाली चलचित्रको बजारको अध्ययन गरेर मात्र चलचित्र बनाउन सुझाव दिए ।

अध्यक्ष केसीले नेपाली चलचित्रको सम्भावना रहेका अन्तर्राष्ट्रिय बजारहरूमा चलचित्र प्रतिनिधि तोकेरै बोर्डले सहजीकरणको काम थालनी गर्ने बताए । यसको सुरुवात बेलायती बजारबाटै गर्न आफूले पहल गर्ने जिकिर गरे ।

अन्तर्क्रियामा बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरूले बोर्ड र समुदायसँग आफ्ना गुनासाहरू राखे । उनीहरूले युकेको बजारमा नेपाली चलचित्रको विस्तारको पहलको लागि रहेका जटिलताहरूका बारेमा प्रस्ट पारे ।

चलचित्र रिलिज गर्दा दर्शक नपाएको स्मरण गर्दै बेलायतमा रहने नेपाली समुदायले नै नेपाली चलचित्रलाई प्राथमिकता नदिएसम्म नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पुग्नको लागि सम्भव नहुने उनीहरूले औँल्याए । विदेशी चलचित्रलाई प्राथमिकतामा नराखी नेपाली चलचित्रलाई विश्वमाझ पुऱ्याउनको लागि उल्लेख्य दर्शकको जरुरी रहेको उनीहरूले बताए । अन्तर्क्रियामा चलचित्रकर्मीहरूसहित करिब १५० जना विभिन्न क्षेत्र र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

पहिलो दिनको कार्यक्रममा यस वर्ष नेपालबाट एकेडेमी अवार्ड (अस्कर)मा सिफारिस भएको तथा विभिन्न अन्तर्राष्ट्रिय अवार्ड विजेता नेपाली चलचित्र ‘हल्कारा’ प्रदर्शन गरिएको थियो । त्यस्तै, नेपाललाई प्राकृतिक रूपमा नै खुल्ला छायाङ्कन स्थलको रूपमा विश्वव्यापी प्रचार गर्न चलचित्र विकास बोर्डले तयार गरेको श्रव्य दृश्य सामग्री प्रदर्शन भएको थियो । साथमा, चलचित्र विकास बोर्डले एक डेस्क राखी विभिन्न जानकारीहरू प्रदान गरेको थियो ।

कार्यक्रम अन्तर्गत दोस्रो दिन आइतबार बेलायतका लागि नेपाली राजदूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल भएको थियो । सो क्रममा बेलायतमा नेपाली चलचित्रको उपस्थितिलाई बलियो बनाउन गर्नुपर्ने आधारभूत कामहरूको विषयमा छलफल भएको थियो ।

कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमवार ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग नेपाली चलचित्रले ब्रिटिस फिल्म इन्स्टिच्युट ९बिएफआई० सँग गर्नसक्ने सहकार्य, नेपाली चलचित्र बेलायतमा छायाङ्कन गर्दा प्राप्त हुने सुविधाहरू, पुरानो प्रविधिमा बनेका चलचित्रहरूको संरक्षण, डिजिटाईजेशन र ती चलचित्रहरूलाई सहज रूपमा सर्वसाधारणमाझ पुर्‍याउन बिएफआईले चालेका कदमहरूको विषयमा जानकारी लिइएको थियो ।

तपाइँको प्रतिक्रिया