सोमबार, असोज २८, २०८१ |Mon Oct, 2024
अक्ल्याण्डको समय: १९:१२ |सिड्नीको समय: १७:१२ |काठमाडौंको समय: ११:५७

नेविसंघ इतर समूहको निष्कर्ष : मनोमानीविरुद्ध एकजुट भएर लड्ने

एएनजेड खबरफ्रेब्रवरी २६, २०२४

काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघका इतर पक्षका नेताहरुले संस्थापन समूहले संगठनलाई एकलौटी गर्न खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंको वाल्मीकि क्याम्पसमा भेला भएका डा.शेखर कोइराला र महामन्त्री गगन थापा निकटका नेविसंघका नेताहरुले फरक मतलाई स्थान नदिई मनोमानी ढंगले संगठन चलाएको आरोप लगाए ।

नेविसंघको फाल्गुन १५ गतेलाई तय गरेको केन्द्रीय समिति बैठकपूर्व छलफलका क्रममा भेला भएका केन्द्रीय सदस्यहरुले केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले फरक मतलाई स्थान नदिई गुट चलाएको क्याम्पस र जिल्लाहरूमा मनोमानी तरिकाले नियुक्ति दिएको आरोप लगाए ।

केन्द्रीय सदस्य सुनिल शर्माका अनुसार भेलामा अध्यक्षको मनोमानीका सवालमा गम्भीर समीक्षा भएको छ । संघको ७११ सदस्य केन्द्रीय समिति आएपछि पहिलो पटक आव्हान गरिएको केन्द्रीय बैठकमा कसरी प्रस्तुत हुने वा मनोमानीविरुद्ध बैठक नै बहिष्कार गर्नेसम्मको छलफल भएको केन्द्रिय सदस्य शर्माले बताए । तर कतिपयले बैठकमा सहभागी भएर बलियो उपस्थिति जनाउनुपर्ने धारणा राखेका थिए ।

बाल्मीकि क्याम्पसमा भएको भेलामा केन्द्रीय सदस्यहरु, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति थियो । छलफलबाट सङ्कलित सुझावका आधारमा केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने केन्द्रीय सदस्य इ.सुवास पौडेलले जानकारी दिए ।

२०७८ फाल्गुनमा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति र २०८० साउनमा ७१० केन्द्रीय सदस्य नियुक्ति भएपछि लगभग आठमहिनापछि पहिलो पटक फागुन १५ गतेलाई केन्द्रको पूर्ण बैठक आब्हान गरिएको छ ।

तपाइँको प्रतिक्रिया