शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १५:२५ |सिड्नीको समय: १३:२५ |काठमाडौंको समय: ०९:१०

न्युजिल्यान्डमा सबैभन्दा धेरै नागरिक निजी सवारी चढ्छन्, अस्ट्रेलियामामा कति ?

एएनजेड खबरफ्रेब्रवरी २७, २०२४

एजेन्सी । न्यूजिल्याण्ड, अमेरिकालगायतका देशमा निजी कार चढ्नेको संख्या बढ्दै गएको पाइएको छ । सबैभन्दा धेरै कारको स्वामित्व भएका नागरिक भएका देशमध्ये अमेरिका अग्रस्थानमा छ । प्रति एकहजार अमेरिकीमा ८ सय ६० जनासँगै आफ्नै कार छ ।

भिजुअल क्यापिटालिस्टले इन्टरनेसनल अर्गनाइजेसन अफ मोटर भेहिकल म्यानुफ्याक्चरर्स (ओआईसीए)का अनुसार २०२० को तथ्यांकअनुसार अमेरिकामा २८ करोड ९० लाख सवारीसाधन थिए। यो संख्या विश्वभर रहेका सवारीमध्ये १८ प्रतिशत हो।

प्रति एकहजार जनामा सबैभन्दा धेरै निजी सवारी हुने नागरिक भएको देशमा न्युजिल्यान्ड हो। प्रति एकहजार जनामा ८ सय ६९ जना न्युजिल्यान्डी नागरिकसँग आफ्नै कार छ। २०१५ देखि २०२० सम्मको अवधिमा निजी कार हुने दर न्युजिल्यान्डमा वार्षिक ३ प्रतिशतले वृद्धि भएको थियो।

त्यस्तै धेरै निजी कार भएका नागरिकहरू पोल्यान्डमा छन्। पोल्यान्डमा एकहजार जनामा ७ सय ६१ जनासँग आफ्नै कार छ भने २०१५ देखि २०२० सम्ममा कार स्वाभित्व हुनेको दर ४ प्रतिशतले बढेको हो।

पोल्यान्डपछि धेरै कार हुने नागरिक भएको देशमा इटाली छ र त्यहाँ एक हजार जनामा ७ सयि ५६ जनासँग कार छ। यसैगरी अस्ट्रेलियामा ७ सय ३७, क्यानाडामा ७ सय ७, फ्रान्समा ७ सय ४, चेक रिपब्लिकमा ६ सय ५८, पोर्चुगलमा ६ सय ४० जना र नर्वेमा ६ सय ३५ जनासँग आफ्नै कार छ।

साथै प्रति एकहजार जनामा बेलायतमा ६ सय ३२, जर्मनीमा ६ सय २७, स्पेनमा ६ सय २७, ग्रिसमा ६ सय १७, जापानमा ६ सय १२, स्वीजरल्यान्डमा ६ सय ४, बेल्जियममा ५ सय ९०, नेदरल्यान्डमा ५ सय ८८ र फिनल्यान्डमा ५ सय ७७ जनासँग आफ्नै कार छ।

नेपालका दुई छिमेकी देशमध्ये चीनमा प्रति एकहजार जनामा २ सय २३ जनासँग आफ्नै कार रहेको छ। २०१५ देखि २०२० सम्मको अवधिमा चीनमा निजी कार हुनेको दर १४ प्रतिशतले बढेको तथ्यांक छ।

त्यस्तै भारतमा प्रति एकहजार जनामा ३३ जनासँग मात्र आफ्नो निजी कार रहेको छ। भारत पछिल्लो तथ्यांकअनुसार संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश हो। यता, नेपालमा ५ लाख ३८ हजार ९ सय ८८ जनासँग निजी कार छ। यो भनेको प्रति एकहजार जना नेपालीमध्ये २० जनासँगमात्रै आफ्नै निजी कार रहेको तथ्यांक हो।

तपाइँको प्रतिक्रिया