शुक्रबार, मंसिर २१, २०८१ |Fri Dec, 2024
अक्ल्याण्डको समय: १६:३७ |सिड्नीको समय: १४:३७ |काठमाडौंको समय: ०९:२२

अमेरिकी राजदूत थम्प्सनको व्यस्तता, नवनियुक्त मन्त्रीहरुसँग भेटघाट

एएनजेड खबरमार्च १०, २०२४

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले काठमाडौंमा दौडधुप बढाएका छन् । उनी नवनियुक्त मन्त्रीहरुलाई बधाई दिनका लागि व्यस्त भएका हुन् । उनले नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरे ।

मन्त्रालयमा आज (आइतबार) भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीमैत्री वातावरण भएको उल्लेख गर्दै आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउनका लागि आग्रह गरे। साथै राजदूत थम्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।

राजदूत थम्सनले आजै अर्थमन्त्री वर्षमान पुनसँग पनि भेटवार्ता गरेका थिए । सो भेटवार्तामा राजदूत थम्पसनले नेपालको शान्ति प्रक्रिया टुँगो लगाउने विषयमा अमेरिकाको सहयोग रहने विश्वास दिलाएका थिए । यस्तै, मन्त्री पुनले भने बैशाखमा हुने भनिएको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरुलाई ल्याउनको लागि आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया