शुक्रबार, मंसिर २१, २०८१ |Fri Dec, 2024
अक्ल्याण्डको समय: १८:३२ |सिड्नीको समय: १६:३२ |काठमाडौंको समय: ११:१७

आठ महिनामा नेपालमा २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ विदेशी लगानी

एएनजेड खबरमार्च १६, २०२४

काठमाडौं । चालुु आर्थिक वर्षको फागुुन महिनामा मुलुकमा भित्रने विदेशी लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको फागुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ प्रतिबद्धता आएको हो ।

अघिल्लो माघ महिनामा विदेशी लगानी प्रतिबद्धता घटेर ३४ करोड ५० लाख रुपियाँमा झरेको थियो । फागुुन महिनामा आएर भने लगानी प्रतिबद्धतामा ह्वात्तै बढेको हो । विभागका अनुसार आठ महिनामा कुल विदेशी लगानी प्रतिबद्धता २१३ परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ आएको छ ।

चालुु आवको पहिलो महिना साउनमा ११ अर्ब ९३ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो । त्यसपछि घट्दै गएर फागुुनमा आएर पुुनः बढेको हो । वैदेशिक लगानीको प्रतिबद्धतासँगै मुलुकमा भित्रिने रकममा समेत वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब चार करोड रुपियाँ मात्र एफडिआई भित्रिएको थियो ।

फागुनसम्म लगानी ल्याउने प्रतिबद्धता जनाएका विदेशी नयाँ परियोजनामध्ये २३८ परियोजना, मझौला १२ र ठुला तीन परियोजना उद्योग विभागमा दर्ता भएका छन् ।

तपाइँको प्रतिक्रिया