सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: २०:४७ |सिड्नीको समय: १८:४७ |काठमाडौंको समय: १४:३२

पोर्चुगलमा नेपाली युवतीले गरिन झुण्डिएर आत्महत्या

एएनजेड खबरमार्च २०, २०२४

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएकी एक नेपाली चेलीले झुण्डिएर आत्महत्या गरेकी छिन् । पोर्चुगलको मदेइरा बस्दै आएकी पाँचथर फाल्गुनन्द गाँउपालिका–५ की २७ वर्षीया झरना चेम्जोङले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

चेम्जोङले गत शनिबार बेलुका आफू बस्ने कोठाको डबलडेकर बेडमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको त्यहाँस्थित गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व महासचिव निराजन सुवेदीले जानकारी दिए ।

बिदाको दिन एक्लै कोठामा रहेकी उनले ढोका बन्द गरेर आत्महत्या गरेको उनले बताए । सँगै बस्ने साथीहरु कामबाट आएर राति ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेको र प्रहरी आएर ढोका खोल्दा चेम्जोङ झुण्डिएको अवस्थामा रहेको प्रहरीलाई उद्धृत गर्दै सुवेदीले बताए ।

रोजगारीका सिलसिलामा साइप्रस हुँदै पन्ध्र महिनाअघि पोर्चुगल आएकी चेम्जोङ मदेइरास्थित एक होटेलमा कार्यरत थिइन् । उनी होटेलले उपलब्ध गराएको कोठामा अन्य साथीहरुसँगै बस्दै आएकी थिइन् ।

चेम्जोङले झुण्डिएर आत्महत्या गरेको भए पनि के कारणले आत्महत्या गरेको हो भन्ने विषय भने खुलिनसकेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनको शव परीक्षणका लागि मदेइरा स्थित अस्पतालको शवगृहमा राखिएको महावाणिज्यदूत हमालले बताए ।

तपाइँको प्रतिक्रिया