सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: २२:०५ |सिड्नीको समय: २०:०५ |काठमाडौंको समय: १५:५०

अष्ट्रेलिया र न्युजिल्यान्डका युवामा खुसीको स्तर खस्कियो, फिनल्यान्ड विश्वकै सर्वाधिक खुसी देश

एएनजेड खबरमार्च २१, २०२४

काठमाडौं । फिनल्याण्ड विश्वकै खुसी देशमा गणना भएको छ । विश्व खुसी प्रतिवेदन– २०२४ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश देखाएको हो। प्रतिवेदनको सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। राजनीतिक अस्थिरताका कारण गम्भीर मानवीय संकटसँग जुधिरहेको अफगानिस्तान अन्तिम स्थानमा छ।

प्रतिवेदनअनुसार उत्तर अमेरिका, अष्ट्रेलिया र न्युजिल्यान्डका युवामा पछिल्ला दशकको तुलनामा खुसीको स्तरमा निकै गिरावट आएको र मध्य तथा पूर्वी युरोपका देशमा सबै उमेर समूहमा खुसीको स्तर बढेको देखिन्छ। खुसीको स्तर बढ्नुले ती देशमा सकारात्मक सामाजिक तथा आर्थिक परिवर्तन भैरहेको देखाउँछ।

फिनल्यान्डका छिमेकी डेनमार्क, आइसल्यान्ड, स्विडेन सबैभन्दा बढी खुसी हुने विश्वकै १० देशभित्र परेका छन्। नेपालमा भने युवा भन्दा प्रौढ समूह बढी खुसी भएको देखिन्छ । प्रतिवेदनले छिमेकी भारतमा पनि युवाभन्दा प्रौढ अधिक खुसी रहेको प्रतिवेदनमा देखिन्छ ।

सन् २०२४ को विश्व खुसी प्रतिवेदनमा न्यूनतम १ देखि अधिकतम १० अंकसम्मको मापनमा ५.१५८ अंकसहित नेपाल ९३औं स्थानमा छ। नेपाल सन् २०२३ मा ७८औं, २०२२ मा ८४औ र २०२१ मा ८७औं स्थानमा थियो। समग्र खुसीको स्तरमा नेपालको गिर्दो अवस्था रहे पनि दक्षिण एसियाली देशहरूमा भने पहिलो स्थान छ।

कसरी हुन्छ मापन ?

सन् २०११ मा संयुक्त राष्ट्रसंघीय महासभाले सदस्य राष्ट्रलाई खुसीको मापन गर्न र उक्त तथ्यांकलाई सार्वजनिक नीतिमा प्रयोग गर्ने सम्बन्धमा प्रस्ताव अनुमोदन गरेपछि सन् २०१२ देखि यो प्रतिवेदन सार्वजनिक गरिँदै आएको छ।

प्रतिवेदन तयार गर्दा सम्बद्ध देशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन, औसत आयु, सामाजिक समर्थन, उदारता, जीवन छनोट गर्ने स्वतन्त्रता र भ्रष्टाचारलाई आधार मानिन्छ।

प्रतिवेदन सयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क, अनुसन्धान संस्था ग्यालोप, अक्सफोर्ड वेलविङ रिसर्च सेन्टर र प्रतिवेदन तयारीका लागि गठित सम्पादन समूहले तयार गर्छन्।

तपाइँको प्रतिक्रिया