सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ००:१२ |सिड्नीको समय: २२:१२ |काठमाडौंको समय: १७:५७

भावी रानी ‘हराइरहेको’ अफवाह फैलिएपछि राजकुमारी केटबारे तथ्य सार्वजनिक

एएनजेड खबरमार्च २५, २०२४

काठमाडौँ । वेल्सकी राजकुमारी केटलाई क्यान्सर भएको छ । आफ्नो स्वास्थ्यबारे समाजिक सञ्जालमा गरिएको उन्मादपूर्ण अनुमानहरूको हप्ता दिनपछि राजकुमारी केटले शुक्रबार एक भिडियोमार्फत पेटको ठूलो शल्यक्रियापछि हाल किमोथेरापी गराइरहेको बताएकी थिइन् ।

बयालीस वर्षीया राजकुमारीले क्यान्सर आफ्ना लागि एक ठूलो झट्का रहेको र सोको रोकथामका लागि किमोथेरापीको प्रारम्भिक चरणमा रहेको बताएकी थिइन् ।

प्रिन्स विलियम राजकुमारीलाई क्यान्सर भएको घोषणा पश्चात जनताबाट पाएको न्यानोपन र समर्थनबाट अत्यन्तै उत्प्रेरित भएको बताइएको छ ।

“राजकुमार र राजकुमारी संयुक्त अधिराज्य र विश्वभरका जनताबाट आएका सन्देशले उत्प्रेरित हुनुभएको छ, उहाँहरू जनताको न्यानोपन र समर्थन तथा यस समयमा गोपनीयताका लागि गरिएको अनुरोधलाई बुझिदिएकामा कृतज्ञ हुनुहुन्छ”, केन्सिङ्टन दरबारका प्रवक्ताले भने ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन, क्यान्सरको उपचार गराइरेका राजा चार्ल्स तृतीयलगायत विश्वभरबाट राजकुमारी केटका लागि समर्थनका सन्देश आइरहेका छन् ।

केट वा अरु कसैले पनि उनलाई कस्तो प्रकारको क्यान्सर भएको हो वा कुन चरणमा उपचार भइरहेको छ भन्ने खुलासा गरेकी छैनन् । राजकुमारीप्रति सहानुभूति प्रकट गर्दै मानिसहरू केन्सिङ्टन दरबारका साथै विन्डसर क्यासलमा भेला भएका छन् ।

अधिकारीहरूले शुक्रबारसम्म जनवरीमा केटको शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारका लागि उनी अप्रिलसम्म सार्वजनिक कर्तव्यबाट टाढा बस्ने बताएका थिए ।

यसले भावी रानी ‘हराइरहेको’ अफवाह फैलायो र केटले यो महिनाको सुरुमा संयुक्त अधिराज्यमा मदर्स डे मनाउन जारी गरिएको आधिकारिक तस्बिर परिवर्तन गरेको स्वीकार गरेपछि अवस्था थप जटिल बनेको थियो ।

तपाइँको प्रतिक्रिया