बुधबार, वैशाख १९, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०१:१७ |सिड्नीको समय: २३:१७ |काठमाडौंको समय: १९:०२

नेपाली नयाँ बर्षको भब्य स्वागतको तयारीमा अष्ट्रेलिया, क्यानबेरामा आतसबाजी

एएनजेड खबरअप्रिल ७, २०२४

सिड्नी । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समूदायले नेपाली नयाँ बर्ष २०८१ लाई विशेष रुपमा मनाउने तयारी थालेका छन् । नयाँ बर्षका अवसरमा दर्जनौं सहरमा सांगीतिक कार्यक्रमको तय भइसकेको छ भने नयाँ वर्षको पहिलो दिन वैशाख १ गते (१३ अप्रिल, २०२४) राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतसबाजी गरिने भएको छ ।

सनातन समाज अष्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लका अनुसार नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर स्थानीय सरकारको समेत अनुमतिमा आतसबाजीसहितको कार्यक्रम गर्न लागिएको हो ।

‘नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्व समान भएकाले यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेको जमात ठुलै छ । त्यसैले नेपालीको आफ्नै संस्कृति छ, चाल चलन छन् भनेर पहिचान दिनका लागि नयाँ वर्षलाई आतसबाजी गर्ने योजना बनाएका छौँ,’ उनले भने । त्यस्तै नयाँ बर्षको उपलक्ष्यमा अष्ट्रेलियाको ब्रिजबेनमा भब्य लोक दोहोरी कार्यक्रमको तयारी भइरहेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अष्ट्रेलिया शाखाको सहयोगमा उपशाखा क्विइन्सल्यान्डले “विदेशी परिवेश, नेपालीपनको उत्थान कला, सँस्कृतिको सँरक्षण हाम्रो अभियान’ नारासहित आगामी अप्रिल १२ मा विशेष लोक दोहोरी कार्यक्रमको आयोजना गर्न लागेको हो । लाइभ दोहोरीमा नेपालबाट आएका रमेश बीसी मधु क्षेत्री, मेक्सम खाति, अमृत सापकोटा, कोपिला मगर साथै आयोजकका तर्फबाट झलक पुन, गिता छ्न्त्याल, रमेश खत्री, रन्जन पराजुली, सुमित्रा ढकालको धमाकेदार प्रस्तुति दिनेछन् ।

त्यस्तै फार वेष्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरियाले नेपाली नयाँ वर्षमा तथा ‘विसु पर्व’ मनाउने तयारी गरिरहेको छ । सोसाईटीले सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व अप्रिल १४ तारिख मेलबर्नको स्टोनिया हाउसमा मनाउन लागेको हो। कार्यक्रममा किड्स फेस पेन्टिङ, सांस्कुतिक प्रस्तुति, नित्य, देउडाका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहने सोसाईटीका उपाध्यक्ष दिप चन्दले जानकारी दिए।

नयाँ बर्षकै पेरिफेरिमा लोकप्रिय गायक कर्णदासले आफ्नो सांगितिक प्रस्तुति दिने छन् । नयाँ बर्षकै छेको पारेर विभिन्न नेपाली फिल्महरु पनि अष्ट्रेलियाका सहरहरुमा प्रदर्शन हुनेछन् । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि एकै दिन रिलिजको तयारीमा छ । अष्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ ।

हाल प्रदर्शन भइरहेको ‘महाजात्रा’ पनि विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । महाजात्रा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, पर्थ, डार्बिन, क्यानबेरा र एडिलेटमा प्रदर्शनको योजना छ । महजात्रा कार्यक्रमका क्रममा चर्चित नेपाली कलाकार अर्थात महजोडी मदनकृष्ण श्रेष्ठ,हरिवंश आचार्य सहित महजात्राको टिम अष्ट्रेलियाका विभिन्न ठाउँमा कार्यक्रम गर्दैछ ।

महजात्रा २०२४ भब्य बनाउन महजोडिका साथै किरण केसी (राता मकै)नरेन्द्र कंसाकार, भेट्रान गायिका कुन्ति मोक्तान समेत अष्ट्रेलिया र न्युजिल्यान्ड टुरमा रहनेछन् ।

यता, सरकार इन्टरटेन्टमेन्टले नेपाली नयाँ वर्षको स्वागतमा न्यु इएर ब्लास्ट–२०८१ ब्रिजबेनमा ८ अप्रिलमा आयोजना गर्दैछ । कार्यक्रममा लाहुरे, इल्देभ लिम्बु, भियोमा लगायतका कलाकारका साथै स्थानीय कलाकारको प्रस्तुती हुनेछ । ५० डलर खर्चेर नेपाली नयाँ वर्षको स्वागतमा हुने सांस्कृतिक कार्यक्रममा सहभागि हुन पाइनेछ ।

इम्पाएर इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसले टाइटल स्पोन्सरका रुपमा साथ दिएको नेपाली नयाँ वर्षको स्वागतमा हुने सास्कृतिक कार्यक्रम फर्टिट्युड भ्यालीस्थित द टिभोली ब्रिजबेनमा हुनेछ ।

नेपाली सोसाईटी अफ तास्मानियाले पनि नयाँ बर्षको स्वागतमा भब्य कार्यक्रमको तयारी थालेको छ । सोसाईटीले अप्रिल १२ गते शुक्रबार होबार्ट सिटीको हलमा नेपाली नयाँ वर्षको अवसर पारेर बाल्टी नामक स्टेज नाटक, विभिन्न समुदायका कल्चरल डान्स र सांगीतिक कार्यक्रम गरी नयाँ वर्ष मनाउन लागेको हो।

तपाइँको प्रतिक्रिया