बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०६:५७ |सिड्नीको समय: ०४:५७ |काठमाडौंको समय: ००:४२

क्रसबोर्डर भुक्तानी सेवा : विदेश जाँदा डलर साट्न नपर्ने !

एएनजेड खबरअप्रिल १९, २०२४

काठमाडौं । नेपाल र अन्य देशबीच हुने अन्तरदेशीय (क्रसबोर्डर) भुक्तानी सेवा पूर्ण रुपमा सञ्चालन हुने भएको छ । अहिले संकुचित रुपमा रहेको भुक्तानी सेवाको दायरालाई फराकिलो बनाउने गरी नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गर्न लागेको हो ।

मंगलबार राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले अन्तरदेशीय भुक्तानी सम्बन्धी व्यवस्थाको मस्यौदा सार्वजनिक गर्दै यसमा आवश्यक सुझाव दिन भनेको छ । एक महिनाभित्र प्राप्त सुझाव समेतका आधारमा परिमार्जित व्यवस्था लागू गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसअनुसार अब नेपालबाट भारत वा अन्य मुलुकमा जाने नेपालीले नेपाली बैंक वा भुक्तानी सेवा प्रदायकको एप्लिकेसनमार्फत् सम्बन्धित देशमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यसअघि विदेशबाट नेपाल आउने व्यक्तिले नेपालमा भुक्तानी गर्न यो व्यवस्था लागु गरिएको थियो । पछि नेपालमा रहेका भारतीय नागरिकलाई आफ्नो देशमा पैसा पठाउन र विदेशमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउने सुविधा थप गरिए पनि यसको प्रयोग खासै भएको छैन ।

नयाँ सुविधा थप गर्न लागेसँगै राष्ट्र बैंकले कारोबारको सीमा, सेवा प्रदायकको शुल्क तथा स्वीच लगायत विषयसँग सम्बन्धित नयाँ व्यवस्था गर्ने तयारी शुरु गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको मस्यौदामा अन्तरदेशीय कारोबारको शुल्क सेवा प्रदायकले नै तोक्न पाउने व्यवस्था गरिएको छ । यसअघि पनि यस्तो पेमेन्टको शुल्क निर्धारण गरिएको थिएन । विदेशमा गएर भुक्तानी गर्न पाउने व्यवस्था नै नभएका कारण शुल्क तोकिएको हो ।

विदेशीले नेपाल आएर उतैको सेवा प्रदायकको एप्लिकेसनमार्फत नेपालमा भुक्तानी गर्दा विदेशकै सेवाप्रदायकले तोकेको शुल्क लाग्थ्यो । यो शुल्क राष्ट्र बैंकको दायराभित्र पर्दैन ।

नयाँ व्यवस्थामा नेपालबाट हुने क्रसबोर्डर भुक्तानीको सीमा भारतका लागि मासिक १ लाख भारु तोकिएको छ । तर, उपचार गर्न, औषधि किन्न वा रिसर्च सेन्टरका लागि यस्तो सीमा लागू हुने छैन, जति पनि भुक्तानी दिन सकिन्छ ।

त्यस्तै अन्य देशमा भुक्तानी गर्नुपर्दा नेपाली बैंकमा डलर खाता हुनेले वार्षिक २ हजार डलरसम्म र नेपाली खाताबाटै डलर कार्ड लिएकाले वार्षिक ५०० डलरसम्म भुक्तानी गर्न सक्नेछन् ।

तपाइँको प्रतिक्रिया