शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०९:४० |सिड्नीको समय: ०७:४० |काठमाडौंको समय: ०३:२५

मानवसेवा आश्रमले अष्ट्रेलियामा जुटायो एक करोड ७० लाख रकम

एएनजेड खबरअप्रिल २१, २०२४

काठमाडौं । सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी रु एक करोड ७० लाख रकम संकलन गरेको छ ।

गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात राज्यका विभिन्न १० स्थानमा गरिएको कार्यक्रममा नगद रु ५० लाख र प्रतिवद्धतास्वरुप रु एक करोड २० लाख प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ ।

मानवता प्रवर्द्धनको उद्देश्यले आयोजित आमा सेमिनार एवं अन्तरक्रिया कार्यक्रमहरुमा करिब एक हजार पाँच सय जना अष्ट्रेलियावासी नेपाली उदारमनाहरुको सहभागिता रहेको सो संस्थाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

अष्ट्रेलिया अभियानमा १० जना अष्ट्रेलियावासीले मानवसेवा आश्रमको निर्माणाधीन भवनहरुमा एक कोठा निर्माण सहयोगार्थ रु पाँच लाख ११ हजार एक सय ११ योगदान गरेका छन् ।

नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणाको लक्ष्य लिएर सेवामा समर्पित मानवसेवा आश्रमको सेवा प्रवाहमा अष्ट्रेलिया यात्राले थप हौसला प्रदान गरेको संस्थाले जनाएको छ ।

विगत १० वर्षदेखि नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, औषधोपचार, लालनपालन, पारिवारिक पुनःमिलन एवं परिवार पत्ता नलागेकाहरुको आश्रम सहारा बन्दै आएको छ ।

तपाइँको प्रतिक्रिया