शुक्रबार, वैशाख ७, २०८१ |Fri Apr, 2024
अक्ल्याण्डको समय: १५:५९ |सिड्नीको समय: १३:५९ |काठमाडौंको समय: ०९:४४

हाम्रो बारेमा

मानिस आफैं प्रयोगधर्मी जात हो । सूचना प्रविधिको विकासले मानिसलाई घरदेश र परदेश समान तुल्याएको छ । यतिबेला मानिसले फेर्ने सासभन्दा सूचनाको घनत्व बढी छ । विहानको सूचना बेलुका इतिहास बन्छ । सामाजिक सञ्जाल त समाचारका लागि चुनौती भएका छन् । युटुबका सामग्रीको त कुरै नगरौं । घरभित्रका ठट्टा एकैछिनमा लट्टा भएर सार्वजनिक हुन थालेका छन् ।

भनिन्छ– सूचना प्रविधिका लागि एक वर्ष १२ वर्ष बराबर हुन्छ रे । सूचना र कुचनाबाट पत्रकार नै बच्नुपर्ने अवस्था छ । पकेटपिच्छे अनलाईन समाचार पोर्टलहरु छन् । जातजाति, धर्म, भूगोल, मानिसको रंग हुँदै राजनीतिभित्रका गुट उपगुटसम्मका पोर्टलहरुको थामी नसक्नु भीड छ । मान्छे मर्छ भनेर नजन्मन नमिल्दो रहेछ । यही भीडमा अग्निपरीक्षा दिन हामी एएनजेड खवरमार्फत तपाईहरु सामु आएका छौं ।

आकासका तारा झार्ने, समाचारको मानक बन्ने या त्यस्तो अमूर्त उद्देश्यबाट उत्प्रेरित भएर यो अनुष्ठान आरम्भ गरिएको होइन । जन्मभूमिमा हुँदा बसेको पत्रकारिताको लत धराको जुनसुकै कुनामा पुगेपनि नमेटिने रहेछ । इमान्दारपूर्वक भन्दा त्यही तलतल मेट्ने जमर्को हो । त्यसबाहेक मातृभूमि छोडेर परदेशिनेहरुको संख्या हेर्दा लाग्छ, अब परदेशमा घरदेश खोज्नुपर्ने अवस्था छ । परदेशसंग घरदेश जोड्ने सेतूका रुपमा एएनजेड खबरले मुख्य भूमिका निर्वाह गर्नेछ । विशेषगरी कर्मभूमि अष्ट्रेलिया– न्यूजिल्याण्डका खबर हाम्रो प्राथमिकताका दायरामा पर्ने छन् । त्यसबाहेक मानव रुचि, विश्व राजनीति, मातृभूमिका खबरले स्वतः आफ्नो हक कायम गर्ने नै भए । टिक्नु र विक्नुको चुनौतीपूर्ण यो यात्रा फलामको चिउराभन्दा कम छैन । एउटा पहाड छिचोलेपछि कयौं त्यस्ता चुनौतीपूर्ण पहाड पार गर्नुपर्छ भन्नेमा हामी सचेत छौं । सत्य र निष्ठा हाम्रा धर्म हुन् । लोकतन्त्रका मूल्य मान्यता हाम्रा आदर्श हुन । लोकतन्त्रको जमिनमा मात्र विचारको महल ठडिन सक्छ । हामीले शुरु गरेको महायज्ञमा लेखक, शुभेच्छुक, आलोचक र विज्ञापनदाताको सहयात्रा आवश्यक छ । गच्छेअनुसारको चरु सबैले छरे मात्र महायज्ञ सार्थक हुनेछ ।

हाम्रो टीम

प्रधान सम्पादक/संस्थापक
प्रकाश हुमागाई
न्यूजिल्याण्ड ब्युरो प्रमुख
बुद्दिसागर घिमिरेे
वेस्टर्न अस्ट्रेिलया ब्युरो प्रमुख
उत्सव प्रताप थपलिया
युरोप ब्यूरो प्रमुख
राजकुमार थापा