बुधबार, जेठ ९, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०६:५९ |सिड्नीको समय: ०४:५९ |काठमाडौंको समय: ००:४४

कलाकार निशाको उपचारमा अष्ट्रेलियावासीको साथ

एएनजेड खबरजुन १८, २०२१
     

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छट्पटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उपचारमा सघाउन देश विदेशका सहयोगी हातहरु सक्रिय भएका छन् । सामाजिक सञ्जालमा निशाको हृदयविदारक तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले अस्पताल ल्याएर उनको निशुल्क उपचार शुरु गरेकी थिइन । अष्ट्रेलियामा रहेका गायक रमन रेग्मीको पहलमा निशाको उपचार र परिवारको सहयोगको लागि आर्थिक सहयोग संकलन गरिएको थियो । रेग्मीको पहलमा उठेको १ लाख २६ हजार ३ सय रुपैयाँ सञ्चारकर्मी नरेश भट्टराईमार्फत परिवारलाई हस्तान्तरण भइसकेको छ ।

This image has an empty alt attribute; its file name is Nishaa.jpg


अभिनय कोर्स सिक्न भारतमा गएका बेला सडक दुर्घटना उनी गम्भीर घाइते भएकी थिइन । दुर्घटनापछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याई केही समय वीर अस्पतालमा उपचार गरियो । औषधि उपचारको खर्च धान्न नसकेपछि परिवारले आफ्नै संरक्षणमा घरमा राखेको थियो । कलाकार घिमिरेका बाबुआमा श्रमिक मजदुरी गरेर ज्यान पाल्दै आएका छन् ।
दुर्घटनामा पर्नुअघि ६० केजीकी निशा अहिले सुकेर २० किलोग्राममा झरेकी छन् । चिकित्सकहरु उपचारपछि उनलाई व्यावसायिक जीवनमा फर्काउन नसके पनि आफ्नो दैनिकीको काम गर्न सक्ने अवस्थामा पु¥याउनेमा आशावादी छन् । छोरीको निशुल्क उपचार भएपछि अभिभावक खुसी छन् । कलाक्षेत्र सम्वद्ध विभिन्न संघसंस्थाले निशाको उपचारका लागि सहयोग जुटाउँदै आएका छन् ।

This image has an empty alt attribute; its file name is nisha-ghimire-4-701x1024.jpg


नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने बताएको उल्लेख गर्दै दाहालले भनेका छन् ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला तर कम्तीमा आफैं हिँडडुल गर्नसक्ने, खानसक्ने र केही बोल्न सक्नेसम्म भयो भने पनि धेरै हुन्छ ।’
अहिले उनी बोल्न सक्दिनन् । अरुले नै खुवाइदिनुपर्छ । कसैले केही कुरा गरेमा सुन्न सक्छिन् तर बुझेर आँसु भने बगाउँछिन् । जवाफ दिन नसक्ने अवस्थामा छिन् ।
छोरीको उध्दार भएकोमा निशाका बुबाले भने ‘छोरी जिउँदो लाश भएर लडेको तीन वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’
निशाको उपचार गर्दागर्दै परिवारको सम्पत्ति सकिएको परिवारले बताएको छ । निशाका परिवार कोठा भाडा तिर्न नसकेपछि हाल भैसीपार्टीस्थित टिनले बारेर एउटा झुप्रोमा बसेका छन् ।

तपाइँको प्रतिक्रिया