बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ११:४० |सिड्नीको समय: ०९:४० |काठमाडौंको समय: ०५:२५

अष्ट्रेलियन कम्पनीले रारामा पहिलो लक्जरी रिसोर्ट खोल्ने, काठमाडौंमा गरियो सम्झौता

एएनजेड खबरअप्रिल २९, २०२४

काठमाडौं । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ। उक्त क्षेत्रमा ८० रोपनी जमिनमा १ अर्ब १० करोड रुपैयाँको लागतमा अष्ट्रेलियाको एक कम्पनीले लक्जरी रिर्सोट खोल्न लागेको हो ।

रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने निश्चित भएको हो । काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् । समुद्र सतहदेखि ३,७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देख्न सकिनेछ ।

मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ ।

परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रकृया लगभग अन्तिम चरणमा पुगेका छन् । आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप गरिने सम्झौतामा उल्लेख छ ।

एनआरएनएहरुले खोलेको एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

तपाइँको प्रतिक्रिया