शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ००:०३ |सिड्नीको समय: २२:०३ |काठमाडौंको समय: १७:४८

साउथवेस्ट सिड्नीका नेपालीले गरे मेयर र सांसदसंग अन्तरक्रिया

एएनजेड खबरअगस्ट १३, २०२१

साउथवेस्ट नेपलिज कम्युनिटीले कोभिड–१९ का बारेमा समुदायलाई जानकारी दिने उद्धेश्यले सामुदायिक जानकारी सेसन एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । न्यूसाउथवेल्समा पछिल्लो समय देखिएको कोरोना कहरको डेल्टा भेरियन्टको हट स्पटमा रहेको दक्षिण सिड्नी र विशेष गरि क्याम्पवलटाउन काउन्सीलका पछिल्लो वस्तुस्थितिका बारेमा जुम मार्फत गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।
नेपाली समुदायका अगुवाहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा सांसद पिटर सिडग्रियभ्स र क्याम्पवलटाउन काउन्सीलका मेयर जर्ज बे्रटसेभिकले कोभिड कहरको पछिल्लो वस्तुस्थिति र नेपाली समुदायले खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।


कार्यक्रममा बोल्दै मेयर ब्रेटसेभिकले क्याम्पवलटाउन क्षेत्र कोभिडको डेल्टा संक्रमणको असर रहेपनि यहाँ रहेका सबै समुदायले देखाएको सामाजिक सचेतना सराहनीय रहेको बताएका थिए । ‘ क्याम्पवलटाउन काउन्सीलमा बसोबास गर्दै आएका नेपालीहरुले अहिलेको महामारीमा देखाएको धैर्यता, समुदायमा गरेका कार्यहरु लगायतका विषयको म ब्यक्तिगत तर्फबाट र काउन्सीलको तर्फबाट पनि विशेष धन्यवाद दिन चाहान्छु ।’ उनले भने ।
कार्यक्रममा सांसद सिडग्रियभ्सले कोभिडको डेल्टा संक्रमणले ल्याएको यो विषम परिस्थितिमा राज्य सरकारले तोकेका नियमको परिधिमा रहेर नेपाली समुदायले गरेको सहयोग प्रति धन्यवाद दिए । यो संकटबाट पार पाउने उपाय भनेको भ्याक्सीन नै लगाउनु पहिलो दायित्व भएकोले त्यसतर्फ सबैले जोड दिन समुदायका अगुवाहरुलाई आग्रह गरेका थिए ।

न्यूसाउथ वेल्सका अवैतानिक नेपाली वाणिज्यदूत दिपक खड्काले प्रत्येक पटकका संकटमा नेपालीहरुले एकजुट भएर सामना गर्दै पार गरेकाले अहिलेको कोभिड संक्रमणबाट बच्न र सामान्य जीवनमा फर्किन राज्य सरकारले निर्देश गरेका नियमको पालना गर्दै अघि बढ्नुपर्ने बताए ।
साउथवेस्ट नेपलिज कम्युनिटीका प्रवक्ता एवं सामाजिक अभियन्ता सूर्यभक्त खनालको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रममा कम्युनिटीका अध्यक्ष देवेन्द्र सापकोटाले समुदायको हक र हितका लागि आफूहरुले खेलेको भूमिकाको चर्चा गर्नुका साथै कोभिड कहरबाट परेको असर र नेपाली समुदायको दायित्व के हुन सक्छ भन्ने बारेमा कार्यक्रम आयोजना गरेको जानकारी दिएका थिए ।

कम्यूनिटी महासचिव प्रेम शाहले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय उपाध्यक्ष मन केसीले कोभिड कहरले पारेका असर लगायतका विषयमा विभिन्न समयमा सरकारका अधिकारीहरुसंग नियमित सम्पर्क र अन्तरक्रिया गरेको जानकारी दिंदै साउथवेस्ट नेपलिज कम्युनिटीले गरेको कार्यक्रमबाट अझ बढि बुझ्ने मौका पाएको बताएका थिए । समुदायका अगुवा भुपाल सिटौलाले कार्यक्रम आयोजकको तर्फवाट सहभागी सवैलाई धन्यवाद ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया