शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:१६ |सिड्नीको समय: २०:१६ |काठमाडौंको समय: १६:०१

एनआरएन विवाद समाधान गर्ने जिम्मा संरक्षक परिषदलाई, नभए आइसीसीको विश्व भेला

एएनजेड खबरअक्टोबर २५, २०२१


This image has an empty alt attribute; its file name is confernene.jpg

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेलाले संघमा उत्पन्न समस्या समाधानको जिम्मा संरक्षक परिषदलाई दिएर जतिसक्दो चांडो संस्थालाई विधान बमोजिम संचालन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।


२४ अक्टोबरमा सम्पन्न भर्चुअल विश्व सम्मेलनले विधान बमोजिम २ वर्षभित्र महाधिवेशन गर्न नसकेको कारण संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख भए बमोजिम संस्थाको साख बचाउन संरक्षक परिषदले पहल गर्नुपर्ने सम्मेलनले माग गरेको छ ।
सम्मेलनले एमआइएस (सदस्यता सूचना प्रणाली) मा देखिएका अनियमितताको छानबिन गरी स्वतन्त्र र निस्पक्ष निर्वाचन समेत संम्पन्न गर्न संरक्षक परिषदलाई आग्रह गरेको छ ।


आउंदो एक महिनाभित्र सुझावहरु कार्यन्वयन नगरिए त्यसलगत्तै एनसीसीका सबै अध्यक्ष तथा नव निर्वाचित आइसीसी सदस्यहरुको विश्व भेला गर्ने निर्णय पनि एनसीसीहरुले गरेका छन् । भेलाको तिथिमिति तोक्ने जिम्मेवारी विश्व भेला तयारी समितिलाई दिने निर्णय पनि गरिएको छ ।
सम्मेलनले आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्ने हिसाबले एनसीसीको निर्वाचन डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षप नगर्न संस्थापन पक्षसँग माग गरेको छ ।


प्रतिनिधि छनौट विवादबारे हालै परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान मुताविक कार्यान्वयन गर्न पनि सम्मेलनले संघको वर्तमान नेतृत्वलाई आग्रह गरेको छ ।


‘गैरआवासीय नेपाली संघ नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता भएकाले संस्था भित्रका विवाद सम्बन्धमा सुनुवाइ नभएको अनुभूति गरेपछि नियामक निकायमा जानु स्वाभाविक भएको हाम्रो ठहर छ’, सम्मेलनको निश्कर्ष छ, ‘सरकार, परराष्ट्र वा कुनै दल विशेषलाई आरोप लगाउने काम कुनै पनि संस्थाको जिम्मेवार पदाधिकारीलाई सुहाउँदैन, त्यसो नगर्न पनि हामी आग्रह गर्दछौं ।’


संघको विधानको गलत व्याख्या गरी नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई विश्व सम्मेलनमा भाग लिन नदिने काम न्यायोचित हुन नसक्ने स्पष्ट पार्दै सम्मेलनले भनेको छ, ‘यस सम्बन्धमा प्रचलित अभ्यास अनुसार गर्नु भन्ने परराष्ट्र मन्त्रालयको सुझाव तथा संघको विधानको मर्म र भावना अनुरुप ६५ प्रतिशत डेलिगेटस चयन गर्ने जिम्मा २०२१–२३ का लागि निर्वाचित एनसीसी कार्यसमितिहरूलाई दिन हामी माग गर्दछौं ।’

विश्व सम्मेलनमा संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुका निर्वाचन भएकामध्ये ८० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्ष तथा पदाधिकारी सहभागि थिए ।

पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत प्रमुख आतिथि भएको सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट लगायतका अतिथिले सम्बोधन गरेका थिए ।


संघका केन्द्रीय उपाध्यक्ष मन केसी,पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन, संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, मध्यपूर्व युवा संयोजक राज रेग्मी, विभिन्न एनसीसीका अध्यक्षहरु लगायतका वक्ताले सारगर्भित मन्तव्य राखे ।


तयारी समितिका संयोजक तथा राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहपछि बन्द सत्रमा नेपालमा हालै गएको बाढी पहिरो बाट उत्पन्न स्थिति, संघमा हाल देखिएको समस्या तथा यसको निकास लगायतका विषयमा छलफल भएको थियो । झन्डै साढे चार घण्टा चलेको उद्घाटन सत्रको एनसीसी अष्ट्रेलियाका पूर्व अध्यक्ष केशव कँडेलले संचालन गरेका थिए ।


गैर आवासीय नेपाली संघको १८ वर्षको अवधिमा पहिलो पटक घोषित मितिमा महाधिवेशन तथा चुनाव हुन नसकेको र उत्पन्न विवादलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले उचित सम्बोधन गर्न नसकेको सबैको राय थियो । उत्पन्न वैधानिक संकटलाई सम्बोधन गर्न नसकेको कारणले संघकै जिम्मेवार अभियन्ताहरुले पररास्ट्र मन्त्रालयमा निवेदन दिने स्थिति उत्पन्न भएको सम्मेलनका सहभागी अधिकांशको राय थियो ।
नेतृत्वले समस्याको समाधान गर्न ठोस पहल गर्नुको सट्टा आरोप, प्रत्यारोपको माहोल शुरु गरिएकाले संस्थालाई निकास दिन ताजा जनादेश प्राप्त, भर्खरै निर्वाचित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुले स्वतस्फुर्त रुपमा विश्व भेला गरेका हुन् ।


आइसीसीले एउटै विषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाएर असमान व्यवहार गरेको सम्मेलनको निश्कर्ष छ । आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमीने भएपछि आफ्नो अनुकूल स्थिति बनाउन यस्ता कामहरु गरिएको भोगाइ र बुझाइ सम्मेलनमा सहभागी एनसीसीहरुले व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया