बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १८:४२ |सिड्नीको समय: १६:४२ |काठमाडौंको समय: १२:२७

आजदेखि कोरोना भाइरसविरुद्ध ‘बुस्टर डोज’ दिन सुरु

एएनजेड खबरजनवरी १६, २०२२

काठमाडौं – आजदेखि सरकारले कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिन सुरु गरेको छ। अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइन लागेको हो। रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन्।

कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो। हिजो पुस ३० गते पाँच हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ। कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ।

‘बुस्टर’ डोजका लागि मन्त्रालयले शुक्रबार प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ।

तपाइँको प्रतिक्रिया