शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०१:३६ |सिड्नीको समय: २३:३६ |काठमाडौंको समय: १९:२१

तीन जिल्लामा विनियोजन गरिएको बजेट ठुलो छैन :अर्थमन्त्री  डा प्रकाशशरण महत

एएनजेड खबरजुन १२, २०२३

अर्थमन्त्री डा प्रकाशशरण महतले तीन जिल्लामा बढी रकम विनियोजन गरिएकोबारे स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदै उनले तीन जिल्लामा विनियोजन गरिएको बजेट ठुलो नभएको दाबी गरे।

“भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कूल रु एक सय २३ अर्ब विनियोजन भएको छ । त्यसैले तीन जिल्लामा छुट्ट्याएको रकम ठुलो होइन”, उनले भने।

अर्थमन्त्री महतले  कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनुपरेको स्पष्ट पारे।

साथै उनले मधेस प्रदेशमा पनि राम्रो बजेट विनियोजन गरिएको स्पष्ट पारेका छन् । “पूर्व(पश्चिम राजमार्ग, पथलैया (वीरगन्ज कोरिडोर, चन्द्रपुर(गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोसी मरिन, बागमती, कमला, चन्द्र नहरलगायतका सिँचाइ आयोजनालगायत मधेस प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठुला आयोजनामा उल्लेख्य रकम विनियोजन भएको छ”, उनले भने।

अर्थमन्त्री डा महतले तराई मधेसलाई काठमाडौँसँग जोड्ने द्रुत मार्गमा पनि उल्लेख्य बजेट विनियोजन भएको बताउँदै उनले विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजना मधेस प्रदेशमै सञ्चालित रहेको बताए। सहरी विकास र खानेपानी तर्फ समेत उल्लेख्य रकम मधेस प्रदेशमा विनियोजन भएको उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया