शनिबार, जेठ ५, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०४:५५ |सिड्नीको समय: ०२:५५ |काठमाडौंको समय: २२:४०

रुदै रुँदै पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवले भने – जलहरीमा १० केजी सुन नभए मलाई मृत्युदण्ड दिईयोस 

एएनजेड खबरजुन १३, २०२३

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी १० केजी सुन नभए मृत्युदण्ड भोग्न तयार रहेको बताएका छन्। 

आज सङ्घीय संसद् राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा रुदै रुँदै  स्पष्टीकरण दिँदै थापाले १० केजी सुन नपुगे आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका हुन। 

थापाले आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै गहभरि आँसु पारेका थिए। 

उनले भने,’मेरा दुई सन्तान छन् ,उनीहरूको भविष्य समेत अन्धकार हुने गरी मलाई सुन चोरको आरोप लगाइएको छ’,। आफूलाई सुन चोर भनेको प्रति दुखेसो पोख्दै उनले राज्यको नीति यही हो भने आत्महत्या गर्नु पर्ने अवस्था आउने बताए। 

सदस्य सचिव थापाले भने, ‘सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्महत्या गर्नुपर्ने हो? माननीयज्यूहरू। म यो सुनको जलहरी समितिको संयोजक हो। यसमा नेपाल राष्ट्र बैङ्कले दिएको सम्झौता अनुसार हामीले सुन लिएर आएका छौँ–१०३ केजी। त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनीत भएपछि हामी कर्मचारी हो। राज्यका प्रमुखहरूले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो? त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो। उहाँहरूको निर्देशनमा हामीलाई शिवरात्रि भरीमा त्यो सकाउनु भनिएको थियो। हामीले सकायौँ। गल्ती के गर्‍यौँ?’

 जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभाबी आरोप लगाउन नमिल्ने उनको भनाइ छ। 

त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढङ्गले प्रतिवेदन आएको उनको दाबी थियो।

तपाइँको प्रतिक्रिया