आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १३:५५ |सिड्नीको समय: ११:५५ |काठमाडौंको समय: ०७:४०

पूर्वमा बाढी-पहिरो, एक जनाको मृत्यु, २५ जना बेपत्ता !

एएनजेड खबरजुन १८, २०२३

वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठुलो धनजनको क्षति भएको छ ।गए राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन्  भने एक जनाको ज्यान गएको छ। 

बाढीले ठुलो भौतिक तथा मानवीय क्षति भएको र थप विवरण आउन बाँकी रहेको सुरक्षा निकायले बताएका छन् ।गए राति सङ्खुवासभाको हेवा खोलामा आएको बाढीमा परी १६ जना बेपत्ता भएको बताइएको छ। 

चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको र तीन जनाको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जानकारी दिएको छ । सङ्खुवासभाको पाँचखपन नगरपालिका-५ मा एक जनाको शव भेटिएको छ। 

गए राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने खोलाको पक्की पुलहरू बगाएको छ। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना बेपत्ता भएका हुन्। 

यस्तै ,ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।गए रातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बेपत्ता भएका चारै जनाको खोजी कार्य भइरहेको छ। 

तपाइँको प्रतिक्रिया