बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०१:२६ |सिड्नीको समय: २३:२६ |काठमाडौंको समय: १९:११

वैदेशिक रोजगारीमा गएका एक हजार ३०० भन्दा बढीले गरे आत्महत्या

एएनजेड खबरडिसेम्बर ३, २०२३

काठमाडौं । दक्षिण कोरियामा नेपाली श्रमिकहरूको आत्महत्या गर्ने दर बढेको छ । सन् २००८ देखि हालसम्म कोरियामा ६८ जना नेपालीले आत्महत्या गरेका छन् । आत्महत्याको दर बढेपछि सरकारले जनचेतनाका कार्यक्रमहरु अघि सारेको छ ।

सरकारले नै सार्वजनिक गरेको एक तथ्यांक अनुसार प्रत्येक वर्ष सरदरमा ४ जनाले आत्महत्या गर्ने गरेको देखिएको हो । दक्षिण कोरियास्थित नेपाली दूतावासले ईपीएस कोरिया शाखालाई उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म २५० नेपालीको मृत्यु भएको र जसमा ६८ जनाले आत्महत्या गरेका हुन ।

त्यस्तै ६२ जनाको कुनै कारण नखुली मृत्यु भएको देखिन्छ । काम गर्दागर्दै ३० जनाले ज्यान गुमाएका छन् भने बिरामी भएर २२ जनाको मृत्यु भएको छ । त्यस्तै ४ जनाको समुन्द्रमा डुबेर तथा ३५ जनाको अन्य विभिन्न कारणले मृत्यु भएको छ ।

यस्तो अवस्थामा ईपीएस कोरिया शाखाले चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ कोरिया पठाएको छ । ईपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले ‘हेप्पी होम रिटर्न’ कार्यक्रमका लागि उक्त पैसा पठाइएको बताए ।

कोरियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूमा जनचेतना फैलाउने, समस्यामा परेकाहरूलाई उद्धार गर्ने लगायतका कार्यक्रम गरिँदै आएको उनले बताए ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार २०६५ यता वैदेशिक रोजगारीमा गएका साढे १२ हजार नेपालीले विदेशमा ज्यान गुमाएका छन् । तीमध्ये एक हजार ३०० भन्दा बढीले आत्महत्या गरेका छन् ।

तपाइँको प्रतिक्रिया