शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १३:०३ |सिड्नीको समय: ११:०३ |काठमाडौंको समय: ०६:४८

जोखिमपूर्ण मुलुकमा नेपाली युवाः दलाललाई लाखौं रुपैंयाँ बुझाएर रुसी सेनामा भर्ती !

एएनजेड खबरडिसेम्बर १३, २०२३

काठमाडौं । सरकारले श्रम स्वीकृतिका लागि रोक लगाएका जोखिमपूर्ण मुलुकमा नेपाली युवा पुग्ने गरेको तथ्यांकहरुले देखाएको छ । यतिबेला वैदेशिक रोजगारीका सिलसिलामा नेपाली युवा विश्वका एक सय ४४ मुलुकमा छन् ।

रोजगारीका लागि संस्थागत रुपमा १११ र व्यक्तिगत रुपमा १७८ देशमा जान सकिने व्यवस्था गरेको छ । नेपाली श्रमिक द्वन्द्वग्रस्त रुस, युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा पनि पुगेका छन् ।

सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिम मानिएका देशमा पनि नेपाली श्रमिक श्रम स्वीकृति लिएरै गएको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९/८० मा विभागबाट श्रम स्वीकृति लिएर ३७ नेपाली युवा युगान्डा पुगेका छन् । त्यस्तै, ६ जनाले रुवान्डाका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ ।

घानाका लागि १२, माली २२, सोमालिया २०, सुडान सात, रसिया तीन सय ८६, इथियोपियाका लागि नौ नेपाली युवाले श्रम स्वीकृति लिएका छन् । यीबाहेक अवैधानिक प्रक्रियामार्फत चरम द्वन्द्वमा परेको युक्रेनजस्तो मुलुकमा समेत नेपाली पुगेका छन् । तर, यसको आधिकारिक तथ्यांक भने सरकारसँग छैन ।

तर जोखिम मानिएका सुडान, कंगो, लिबिया, नैरोबी, तान्जानिया, रुवान्डा, युगाण्डालगायतका मुलुकका बैंक, सेक्युरिटी, रेष्टुरेन्टलगायका क्षेत्रमा नेपाली श्रमिक रहेका छन् । सरकारले नेपाली श्रमिकलाई इराक जान बन्देज लगाएको छ । तर, अवैधानिक बाटो हुँदै इराक पुगेका नेपाली श्रमिकको संख्या पनि धेरै छ ।

यतिबेला रुस–युक्रेन युद्ध निरन्तर छ, तर नेपाली युवाको रुस यात्रा रोकिएको छैन । गैरआवासीय नेपाली संघ रसियाका अध्यक्ष केशव तिमिल्सिनाका अनुसार हाल रुसमा अनुमानित २० हजार नेपाली छन् । नेपालीहरू श्रम, अध्ययन र व्यवसायका लागि रुस जान्छन् । पछिल्लो समय त युद्ध मैदानमा होमिनका लागि पनि जान थालेका छन् ।

आकर्षक तलब र त्यहाँको नागरिकता पाइने आसमा नेपाली युवा रुसी सेनामा होमिने क्रम बढेको छ । सरकारले युद्धग्रस्त मुलुकमा नजान सचेत गराउँदा–गराउँदै पनि युवाहरू त्यहाँ पुगेर बन्दुक बोक्ने उद्देश्यसहित दलाललाई लाखौँ रकम बुझाई अवैध रुपमा जाने गरेका छन् ।

रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध लडेका तीन नेपाली युवा भागेर स्वदेश आइपुगेका उनीहरुको बयानले ठूलो जोखिम मोलेको प्रष्ट हुन्छ । एजेन्टलाई ६ लाख ३० हजार बुझाएर दोलखाका रामचन्द्र श्रेष्ठ र शिवहरि कार्की तथा चितवनका राम परियार गत शुक्रबार स्वदेश आइपुगेका छन् ।

उनीहरुले १८ देखि ५० वर्ष उमेरका करिब १५ सय नेपाली रुसी सेनामा भएको बताउँदै युद्धमा ज्यान गुमाउने र घाइते हुने कैयौँको संख्यामा रहेको जानकारी गराए । ३० घन्टासम्म लगातार युद्धमैदानमा होमिएर बाँच्न सफल भएको उनीहरुको भनाइ छ ।

श्रम सम्झौता गरिएका मुलुकमध्ये कतार र मलेसियामा पनि नेपाली श्रमिकका लागि राम्रो मानिन्छ । वैदेशिक रोजगारीमा गएका नेपाली युवामध्ये ६५ प्रतिशत युवा खाडीका विभिन्न मुलुक र मलेसियामा गएका छन् ।

तपाइँको प्रतिक्रिया