शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०८:३० |सिड्नीको समय: ०६:३० |काठमाडौंको समय: ०२:१५

अष्ट्रेलियामा विदेशी भिसामा कडाइ : के छ नयाँ नियममा ?

एएनजेड खबरडिसेम्बर १४, २०२३

सिड्नी । अष्ट्रेलियाले अध्यापन र अल्पसीप भएका विदेशी नागरिकलाई भिसा सम्बन्धी नियम कडा बनाउने निर्णयपछि नेपाल, चीन, भारतजस्ता देशहरु बढी प्रभावित हुने देखिएको छ ।

अष्ट्रेलियामा सबैभन्दा बढी चीनबाट अध्ययनका लागि विद्यार्थी पुग्ने गर्छन । त्यसपछि भारत र नेपालको नाम आउने गर्छ । विदेशी विद्यार्थीलाई सहज रुपमा भिसा दिँदै आएको अष्ट्रेलियाले पछिल्लो समय क्रमशः भिसासम्बन्धी नियम कठोर बनाउँदै लगेको त्यहाँका गृहमन्त्री क्लेर ओनिलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

अष्ट्रेलियाको आप्रवासन प्रणालीलाई पुनःसामान्य अवस्थामा झार्न यस्तो नीति लिइएको उनले जनाए । जसका कारण भिसा सम्बन्धी काम गर्ने एजुकेशन कन्सलटेन्सीको व्यवसायमा पनि असर गर्ने प्रष्ट देखिएको छ ।

सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको संख्या घटाएर दुई लाख ५० हजार बनाउने लक्ष्य अष्ट्रेलियाले राखेको छ । सन् २०२२–२३ मा अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा धेरै ५ लाख १० हजार विदेशीहरु गएका थिए ।

नयाँ नियम अनुसार विदेशी विद्यार्थीहरुले अंग्रेजी भाषा परीक्षामा उच्च अंक ल्याउनु पर्नेछ । विद्यार्थीले अष्ट्रेलिया बसाई लम्ब्याउन दिने दोस्रो भिसा आवेदनको प्रक्रियामा पनि थप कडाई गरिनेछ । दोस्रो भिसा आवेदन दिनेहरुका हकमा विद्यार्थीहरुले आफूले गर्न खोजेको थप अध्ययनले उनीहरुको प्राज्ञिक उद्देश्य वा करिअरलाई अगाडि बढाउने कुरा प्रमाणित गर्न अनिवार्य ठानिएको छ ।

सीप भएका र उच्च माग भएको विषय पढेकाहरुको हकमा पिआर पाउन सजिलो बनाइएको छ । टिआर भिसाको पनि समय घटाएर पुरानो नै दुई वर्ष कायम गरेको छ भने ब्याचलर सकेकालाई फेरी विद्यार्थी भिसा नदिने भनेको छ। उक्त भिसाका लागि कारण सहित खुलाएर आवेदन दिनुपर्नेछ ।

ब्याचलर भन्दा माथि पढ्नको लागि आवेदन दिँदा थप अध्ययनको कारण पेस गर्नुपर्ने र ब्याचलर अध्ययन सकेकाले भोकेस्नल स्कुलमा पढ्न आवेदन दिन नपाउने व्यवस्था गरिएको छ । त्यस्तै, अंग्रेजी परीक्षा आईईएलटीएस ओभरल ६ अंक हुनुपर्ने र टीआर भिसा परिवर्तन गर्दा आईईएलटीएसमा ६.५ ओभरअल स्कोरिङ अनिवार्य हुनुपर्ने भनिएको छ ।

विदेशी विद्यार्थीले भिसा आवेदन दिँदा आफुले अष्ट्रेलियाको अर्थतन्त्रमा गर्ने योगदानको जिएसटी लेख्नुपर्ने लगायतका कुरामा परिवर्तन भएको छ। विशेषगरी विद्यार्थीको हकमा अग्रेजी भाषा, हाइरिक्स प्रोभाइडरहरुले लेवल थ्री मा पढ्न आउने विद्यार्थीको भिसामा र भिसा परिवर्तन गर्ने कुरामा नयाँ नियमले असहज बनाएको छ ।

नयाँ नियम लागु गरेर अष्ट्रेलिया सरकारले पढ्न आउने तर पढाईभन्दा अन्य गतिविधमा संलग्न हुने, आर्थिक उपार्जनतर्फ ध्यान केन्द्रित गर्ने र स्थायी बसोबासका लागि मात्र प्रयत्न गर्ने कार्यमा लगाम लगाउन खोजेको कन्सल्टेन्सी व्यवसायीहरुको बुझाइ छ ।

सन् २०२२–२३ मा अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा धेरै ५ लाख १० हजार विदेशीहरु गएका थिए । खासगरी विदेशी विद्यार्थीको आगमनमा भएको वृद्धिका कारण यो संख्या बढेको हो । कोभिडको बेलामा सीमामा गरिएको कडाइबिच दुई वर्षसम्म अष्ट्रेलियामा विदेशी विद्यार्थी र कामदारहरु जान पाएका थिएनन् । यसका कारण श्रम बजारमा देखिएको श्रमिक अभावको पूर्ति गर्न गएको वर्ष अष्ट्रेलियाले आप्रवासीको संख्या बढाएको थियो ।

तपाइँको प्रतिक्रिया