शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०९:३० |सिड्नीको समय: ०७:३० |काठमाडौंको समय: ०३:१५

कुवेतमा बन्धक बनाइएपछि आत्महत्या गर्छु भनेकी गंगा नेपाल फर्किइन

एएनजेड खबरडिसेम्बर १५, २०२३

काठमाडौं । कुवेतमा श्रीलंकाकी महिला एजेन्टबाट बन्धक बनाइएकी नेपाली चेली गंगा गिरीको उद्धार भएको छ । उद्धारपछि उनी बुधबार राति कुवेतबाट नेपाल आइपुगेकी छन् ।

उद्धारअघि नातामा ज्वाइँ पर्ने ओमप्रकाश श्रेष्ठलाई आफ्नो समस्या सुनाएपछि श्रेष्ठले उद्धारका लागि पहल गरेका थिए । श्रेष्ठसँगको सम्पर्कमा एजेन्टले साता, १० दिनमा उद्धार गरेर नेपाल फर्काउँछु भने पनि त्यसपछि सम्पर्कविहीन भएका थिए ।

त्यसपछि एजेन्ट रामबहादुर नेगीलाई सम्पर्कमा ल्याएर आवश्यक कागजात उपलब्ध गराउन लगाई नेपाल फर्काएको हो । त्यसो त उनलाई स्वदेश फर्काउन कुवेतमा रहेका समाजसेवी घनश्याम थापा मगरले त्यहाँ रहेकी श्रीलंकाकी एजेन्टसँग पनि समन्वय गरेका थिए ।

आफन्त नाता पर्ने एजेन्ट नेगीमार्फत कुवेत पुगेकी उनी एक महिनादेखि गम्भीर बिरामी परेकी थिइन् । ६ महिना जति कुवेती नागरिकको घरमा काम गरेपछि बिरामी परेकी उनले आफूलाई नेपाल फर्काउन एजेन्ट नेगीलाई गुहारेकी थिइन् ।

उनले बिरामी परेपछि आफूलाई एक महिनासम्म एउटा अँध्यारो कोठाभित्रै थुनेर राखेको र नेपाल फर्किन्छु भन्ने आस नै मारिसकेको बताइन् । कुवेतमा आफूले पाएको यातना पाएकी गंगाले आफन्तलाई फेसबुक म्यासेन्जरमार्फत जानकारी गराएकी थिइन् । र, आफूलाई तत्काल निकाल्न गुहार मागेकी थिइन् । आफूलाई उद्धार नगरे आत्महत्या गर्नेसमेत उनले बताएकी थिइन् ।

तपाइँको प्रतिक्रिया