शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १४:२९ |सिड्नीको समय: १२:२९ |काठमाडौंको समय: ०८:१४

रुसी सेनामा रहेका एक नेपालीको मृत्यु, नेपाली छाड्न युक्रेनको शर्त

एएनजेड खबरडिसेम्बर १७, २०२३

काठमाडौं । युद्धग्रस्त युक्रेन र रुसमा भएको भीडन्तमा परी कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ। तीन महिनाअघि रुसी सेनामा आबद्ध भएर युद्धग्रस्त क्षेत्रमा गएका टीकापुर नगरपालिका १ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको हो।

तीन हप्तादेखि परिवारको सम्पर्कमा नभएका शाहको मृत्युको खबर शनिबार मात्रै परिवारले थाहा पाएका थिए। रुसी सेनामा कार्यरत रहेका कञ्चनपुरका रवीन थापाले अडियो सन्देश पठाउँदै शाहको नोभेम्बर २६ तारेखमा ज्यान गएको बताए । थापाले पठाएको अडियो सन्देशमा आफू र शाहसँगै एउटै ब्यारेकमा रहेको र दुबईबाट सँगै रुस गएको उल्लेख छ।

नेपाल प्रहरीमा सात वर्ष ट्राफिक प्रहरीका रुपमा कार्यरत रहेका भरत तीन वर्षअघि मात्रै दुबईको रोयल गार्डमा रुपमा राजीनामा दिएर पुगेका थिए। दुबईबाटै भरत, रवीन, पोखराका राजेन्द्र राई रुसमा गएका हुन्।

मृतक भरत घरका माइला हुन्। उनका कान्छा भाइ मोहन मलेसियामा छन् भने दाजु उत्तम रोमानिया छन्। शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको उनका भाइ मंगल शाहले बताए । मृत्युको खबर आएपछि आइतबार कुशको शव बनाएर कर्णाली नदीको दौलतपुर घाटमा अन्तिम संस्कार गरिएको छ ।

यता, रुसी सेनामा भर्ना भएर युद्ध मैदानबाट कब्जामा परेका नेपालीलाई छाड्नका लागि युक्रेनले नेपालसँग शर्त राखेको छ । रुसी सेनामा कार्यरत नेपालीको रिहाइका लागि नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयले चालिरहेको कूटनीतिक पहलमा युक्रेनले ‘पोजिसन’ अर्थात शर्त लिएको भनिए पनि त्यो कुन प्रकृतिको हो भन्ने खुलेको छैन ।

कूटनीतिक स्रोतका अनुसार नेपालले परराष्ट्र मन्त्रालय मार्फत दिल्लीमा रहेको युक्रेनी दूतावास र जर्मनीमा रहेको आफ्नो दूतावास मार्फत उनीहरूको रिहाइका लागि पहल गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया