शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १३:४० |सिड्नीको समय: ११:४० |काठमाडौंको समय: ०७:२५

सुनपछि लागुऔषधको तस्कारीः अमेरिकाबाट ल्याइएको ५५ केजी गाँजा बरामद

एएनजेड खबरडिसेम्बर १८, २०२३

काठमाडौं । नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेका बेला पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएर लागुऔषधको कारोबार गर्ने गिरोह सक्रिय हुन थालेका छन् ।

लागुऔषध तस्करहरुले नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गरेर विदेशबाट लागुऔषध नेपाल ल्याई नेपालबाट पुनः विदेश लैजान थालेपछि सुरक्षा अधिकारीहरुका लागि टाउको दुखाइ भएको छ । अन्तर्राष्ट्रिय तस्करहरुले कोकिन र गाँजा सप्लाई गर्न नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गरिरहेको पाइन्छ ।

प्रहरीले शनिबार अमेरिकाबाट अवैध रुपमा नेपालको बाटो हुँदै भारततर्फ तस्करी गर्न ल्याउँदै गरेको ५५ केजी गाँजा बरामद गरेपछि नेपाललाई तस्करहरुले ट्रान्जिटका रुपमा प्रयोग गर्न थालेको अनुमान गरिएको छ ।

नेपालमा गाँजा र चरेस अत्यधिक मात्रामा उत्पादन हुने भए पनि नेपालमा उत्पादित गाँजामा नशाको मात्रा ५ देखि ६ प्रतिशत मात्रै भए पनि अमेरिकामा उत्पादन हुने गाँजामा नशाको मात्रा २४ देखि २५ प्रतिशत रहने भएकाले नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्ने गरेको पछिल्लो अनुसन्धानले देखाएको छ ।

नेपालमा उत्पादन भएका गाँजा तथा चरेसको माग विदेशमा बढी हुने र त्यसको तस्करी नेपालबाट हुने गरेको भए पनि अहिले भने नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेको पाइएको हो । नेपाललाई ट्रान्जिट बनाएर विदेशबाट आएका अवैध लागूऔषध विशेष गरी भारत र थाइल्यान्ड लैजाने गरिएको छ ।

तपाइँको प्रतिक्रिया