बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ११:५६ |सिड्नीको समय: ०९:५६ |काठमाडौंको समय: ०५:४१

उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

एएनजेड खबरडिसेम्बर २५, २०२३

ओहायो अमेरिका । प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहेका गीतकार एवं सर्जकहरूद्वारा एक गैरमुनाफा संस्था ‘इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू एस ए’ आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना भएको छ।

चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो। उप्रेतीको नेतृत्वमा रहेको उक्त संस्थामा लोकप्रिय एवं प्रसिद्ध साहित्यकार एवं गीतकार अनु शाह उपाध्यक्षमा रहेका छन भने महासचिवमा गीतकार नारद रिजाल, कोषाध्यक्षमा गीतकार रमेश लुइँटेल रहेका छन्।

त्यसैगरी बोर्ड अफ डिरेक्टरमा गीतकार डा। राजेश कुमार शाक्य, गीतकार एवं साहित्यकार केशव बैरागी, गीतकार एवं गायक तिलचन आचार्य, सुप्रसिद्ध गीतकार सुनिता थापा बस्नेत रहनु भएको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी गराए ।

चार प्रमुख कार्यकारी समेत रहने गरी जम्मा एघार जनाको बोर्ड अफ डाइरेक्टर रहने उक्त संस्थाको विधानमा उल्लेख रहेको छ। संस्थालाई अभिभाकत्व प्रदान गर्न तथा संस्थालाई सदैव जीवित राख्न प्रमुख संरक्षकमा वरिष्ठ गीतकार एवं साहित्यकार ज्ञानेन्द्र गदाललाई सर्वसम्मत रूपमा संस्थाले चयन गरेको छ। त्यसैगरी अन्तराष्ट्रिय संयोजक तथा प्रमुख प्रेस सल्लाहकारमा लोकप्रिय सञ्चारकर्मी सूर्य चन्द रहनुभएको छ भने नेपाल संयोजकमा म्युजिक भिडियो निर्देशक तथा कार्यक्रम प्रस्तोता प्रहिल कार्कीलाई मनोनयन गरिएको छ ।

अमेरिकाको ओहायो राज्यमा संस्थाको केन्द्रीय कार्यालय रहनेछ। त्यसैगरी संस्थालाई भविष्यमा अन्य देशहरू तथा अमेरिकाको विभिन्न राज्यहरूमा पनि शाखा कार्यालय स्थापना गरिने अध्यक्ष हरि उप्रेतीले जानकारी गराए। संस्था स्थापना गर्नुको प्रमुख उद्देश्य परदेशमा वा प्रवासमा रहेका गीतकार तथा सर्जकहरूलाई आफ्ना सृजना पस्कने आधिकारिक र साझा थलो निर्माण गर्नु रहेको छ।

तपाइँको प्रतिक्रिया