बुधबार, जेठ २, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: १९:०८ |सिड्नीको समय: १७:०८ |काठमाडौंको समय: १२:५३

धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मनाइँदै

एएनजेड खबरडिसेम्बर २६, २०२३

काठमाडौं । आज मंगलबार मंसिर पूर्णिमाको दिनलाई धान्य पूर्णिमाको रुपमा मनाइँदैछ । यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धन वृद्धि हुने विश्वास रहेको छ ।

नयाँ उब्जिएका अन्न सबैभन्दा पहिले पितृ तथा देवीदेवतालाई चढाएर मात्र आफुले खाने गरिन्छ । विशेषगरि नयाँ चामलबाट बनेको खीर, पुवा आदि पकाएर कुलदेवतालाई अर्पण गरिन्छ ।

यसैगरि आज नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने चलन छ । यस दिन इष्टमित्र, साथीभाई र पाहुनालाई योमरी खुवाउने परम्परा छ । आजको दिन शुद्ध भएर चामलको पिठो, चाकु, तील, मास, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाइ छ ।

यसैगरी आजै विभिन्न कार्यक्रम गरी राष्ट्रिय ज्यापु दिवस पनि मनाइने भएको छ । ज्यापु दिवसको अवसरमा काठमाडौंको बसन्तपुर लगायतका क्षेत्रहरुमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । ज्यापु संस्कृतिको रक्षाका लागि प्रत्येक वर्ष योमरी पुन्हीको दिन ज्यापु दिवस मनाउने गरिन्छ ।

यस्तै आज किरात समुदायको मुख्य चाड उधौली पर्व हो । किरात समुदायका केही जातजातिले आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने परम्परा रहेको छ ।

तपाइँको प्रतिक्रिया