मंगलबार, जेठ १, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०२:१४ |सिड्नीको समय: ००:१४ |काठमाडौंको समय: १९:५९

ईपीएस फाराम भर्न नपाउँदा चर्कियो आन्दोलन, गाडीमा आगजनी भएपछि मन्त्रीको रेस्क्यु

एएनजेड खबरडिसेम्बर २९, २०२३

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ ।’ ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

यसैबीच प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनमा प्रहरीको गोली लागेर २३ वर्षीय सुदन राउतको मृत्यु भएको भनिए पनि प्रहरीले भने त्यसलाई औपचारिक रूपमा जानकारी दिएको छैन । जुम्ला स्थायी घर भएका उनी भक्तपुर बस्दै आएका थिए ।

प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएपछि अवस्था तनावग्रस्त बनेको थियो ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।

तपाइँको प्रतिक्रिया