बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ११:२७ |सिड्नीको समय: ०९:२७ |काठमाडौंको समय: ०५:१२

साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड, थप तीन जनालाई मृत्युदण्डको सजाय हुने

एएनजेड खबरजनवरी ४, २०२४

काठमाडौं । साउदी अरबमा गत वर्ष (सन् २०२३) मा एक जना नेपालीलाई मृत्यदण्ड दिइएको छ । साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेलजीवन बिताइरहेका पर्वत मोदी गाउँपालिका–४ खुइजेरीका सन्तबहादुर पुनलाई मृत्युदण्ड दिइएको हो ।

उनको टाउको काटेर मृत्युदण्ड दिइएको रियादस्थित नेपाली दूतावासका सूचना अधिकारी टोपनारायण गिरीले जानकारी दिए । सन् २०२३ मा साउदी अरबले एक नेपालीसहित १ सय ७० जनालाई मृत्युदण्ड दिएको जनाएको छ ।

यस्तै, साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको सूचना अधिकारी गिरीले बताए । मृत्युदण्डको फैसला सुनाइएका नेपालीहरूले गरेका अपराध र नाम भने खुलाइएको छैन । सूचना अधिकारी गिरीका अनुसार थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदारलाई मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ गरेर जेलमा राखिएको हो ।

साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौंसम्म जेल सजाय हुनसक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई पटकपटक अनुरोध गर्ने गरेको छ ।

दूतावासका अनुसार साउदीमा करिब ४ लाखको संख्यामा नेपाली कामदार रहेकामा ४ हजार १ सय ७९ महिला कामदार, घरेलु कामदारको संख्या २ हजार ७ सय ९४, महिला घरेलु कामदार १ हजार १२ जना र पुरुष घरेलु कामदारको संख्या १ हजार ७ सय ९२ जना रहेको छन् । राजधानी दैनिकले खबर लेखेको छ ।

तपाइँको प्रतिक्रिया