बुधबार, जेठ २, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०२:०९ |सिड्नीको समय: ००:०९ |काठमाडौंको समय: १९:५४

१० जनाको मृत्यु भएपछि रसिया र युक्रेनका लागि श्रम स्वीकृति बन्द

एएनजेड खबरजनवरी ५, २०२४

काठमाडौं । जारी युद्धका कारण सरकारले रसिया र युक्रेनका लागि श्रम स्वीकृति दिन स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो ।

नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनिकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ ।

रसिया–युक्रेनबीच युद्ध चलिरहेको बेला धेरै नेपालीहरू रुसी सेनामा भर्ना भइरहेका छन् । युद्धको क्रममा रुसी सेनामा कार्यरत १० जना नेपालीले ज्यान गुमाइसकेका छन् । केही नेपाली घाइते भएका छन् भने केही सम्पर्कविहिन बनेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकको सुरक्षा तथा थप क्षती हुन नदिन श्रम स्वीकृति दिन रोक लगाइएको विभागले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले यसअघि रूस जानेको हकमा कन्सुलर सेवा विभागबाट एनओसी अनिवार्य गराएको थियो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै व्यक्तिगत श्रम स्वीकृति लिएर १ जना महिलासहित ३५ जना नेपाली रूस गएका थिए । त्यो भन्दा अघि कात्तिकमा ४२ जना, असोजमा ४१ जना व्यक्तिगत श्रम स्वीकृति लिएर रूस पुगेका थिए ।

गत आर्थिक वर्ष २०७९÷०८० मा मात्रै २९२ जना नेपालीले श्रम स्वीकृति लिएर रूप पुगेका थिए । सरकारले युक्रेनमा भने गत वर्षदेखि नै श्रम स्वीकृति दिन बन्द गराएको थियो । सरकारले रुस र युक्रेनमा कुनै पनि माध्यमबाट नजाने अपिल गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया