शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:२६ |सिड्नीको समय: १७:२६ |काठमाडौंको समय: १३:११

नेपालीहरुको रोजाइमा अष्ट्रेलिया छैठौं देश, एक बर्षमा एकलाख पाँच हजारले अष्ट्रेलिया रोजे

एएनजेड खबरजनवरी ९, २०२४

काठमाडौं । स्थायी बसोबास गर्ने भन्दै विदेशिने नेपालीको संख्या बढ्दै गएको छ । अध्यागमन विभागले सोमबार जारी गरेको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी बसोवास गर्ने गरी ७० हजार नौ सय १५ नेपाली बिदेसिएका छन् ।

जसमध्ये ३६ हजार ६ सय ६३ पुरुष र ३४ हजार दुई सय ५१ महिला स्थायी बसोबासका लागि गएको विभागले जनाएको छ । खाडी मुलुकबाहेक युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देश जाने नेपालीको मूल उद्देश्य नै स्थायी बसोवासका लागि हुने गरेको पाइएको छ ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार डाइभर्सिटी भिसा (डिभी) परेर, ग्रिनकार्ड लिएर र स्थायी आवासको अनुमति (पिआर) लिएर नेपालीहरु बाहिरिने गरेका छन् । ‘पर्यटन, अध्ययन जे भने पनि यताबाट गएका नेपाली नागरिक उता गएपछि स्थायी बसोवासका लागि पहल गर्ने गरेको तर खाडी मुलुक जाने नेपाली मात्रै फर्किने गरेको पाइएको छ ।

सन् २०२३ मा विदेश जाने नेपाली नागरिकको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । यो अवधिमा दुई लाख ७१ हजार ८८ जना नेपाली युएई गएका छन् । दोस्रो गन्तव्य मुलुक भारत र तेस्रोमा कतार छ । छैठौं नम्बरमा अष्ट्रेलिया रहेको छ । एक लाख पाँच हजार तीन सय ४३ जना अस्ट्रेलिया गएको विभागको तथ्यांकले देखाएको छ ।

विदेश जाने सिलसिलामा भरिएको आवेदन फारामलाई आधार मानेर विभागले तथ्यांक निकालेको हो । अध्ययनका लागि अस्ट्रेलिया, अमेरिका जाने नेपालीहरूले उतै बस्ने गरेका छन् । युएई, भारत, कतार, मलेसिया, साउदी अरबपछि अष्ट्रेलिया नेपालीहरुको रोजाइमा पर्ने गरेको छ । एक बर्षमा स्थायी बसोवास गर्ने गरी जानेको ७१ हजार छ । यस अवधीमा देश छाड्ने नेपालीको संख्या १६ लाख तीन हजार आठ सय ३६ छ  ।

तपाइँको प्रतिक्रिया