शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:०५ |सिड्नीको समय: १९:०५ |काठमाडौंको समय: १४:५०

वैदेशिक रोजगारीमा पठाउँदा न्यूनतम १ लाख ३२ हजार अशुल्न पाउनुपर्ने माग(सूचीसहित)

एएनजेड खबरजनवरी ९, २०२४

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी आफैंले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव गरेका छन् । सरकारले अभिमुखीकरण शुल्कलगायत सबै लागत खर्च बढाएर नयाँ नियम लागू गर्न लागेको भन्दै असन्तुष्टि जनाएका व्यवसायीले सरकारलाई यस्तो प्रस्ताव गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया तथा खाडीका विभिन्न मुलुकमा नेपाली कामदार पठाउँदा प्रतिव्यक्ति न्यूनतम १ लाख ३२ हजार ७ सय ७५ रुपैयाँ खर्च हुने बताएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले फ्रि भिसा फ्रि टिकटमा पठाउने भने पनि त्यो सम्भव नभएको भन्दै संघले सरकारलाई यस्तो लागत खर्च कार्यान्वयनमा ल्याउन प्रस्ताव गरेको हो ।

संघमा आबद्ध व्यवसायीले वैदेशिक रोजगारीमा पठाउने नेपाली कामदारको लागत खर्च निर्धारण गर्न सरकारलाई दबाब दिँदै यस्तो लागत शुल्क प्रस्ताव गरेका हुन् । संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीको क्षेत्रलाई थप मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन संघद्वारा प्रस्तावित यस्तो ‘खर्च शीर्षक’ निर्धारण गर्नुपर्ने बताए ।

‘रोजगारदाताबाट हामीलाई निर्धारित लागत खर्च प्राप्त भएमा कामदारबाट कुनै शुल्क नलिने तर रोजगारदाता कम्पनीले नदिएको खण्डमा शुल्क निर्धारण गरेर श्रमिकसँग लिने व्यवस्था भएमा मात्रै खर्च पारदर्शी हुन्छ,’ संघका अध्यक्ष भण्डारीले भने । उनले लागत तोक्ने हो भने राजस्व छली पनि नहुने र श्रमिक पनि मारमा नपर्ने दाबी गरे ।

यस्तो छ संघले प्रस्ताव गरेको लागत शुल्क
क) अभिमुखीकरण तालिम :– ७ सय रुपैयाँ (नयाँ वैज्ञानिक ढंगले तोकिएअनुसार हुने छ)
ख) राहदानी शुल्कः– ५ हजार रुपैयाँ
ग) मेडिकल शुल्कः– ९ हजार ८ सय ९० रुपैयाँ
घ) यातायात खर्च :- ९ हजार रुपैयाँ (आते जाते)
ङ) अन्तर्वार्ता गर्न आउदा बस्ने खर्चः– ७ हजार रुपैयाँ
च) भिसा शुल्क दूतावासः– ७ हजार ६४ रुपैयाँ
छ) सामाजिक सुरक्षा कोषः– २ हजार ३ सय ५० रुपैयाँ
ज) कल्याणकारी कोषः–१ हजार ५ सय रुपैयाँ
क) इन्स्योरेन्सः– ४ हजार रुपैयाँ (औसत शुल्क)
ञ) सेवा शुल्कः न्यूनतम १ महिनाको तलब करिब ४५ हजार रुपैयाँ (मलेसिया र खाडी मुलुक)
ट) हवाई टिकेट शुल्क ४० हजार रुपैयाँ अनुमानित
ठ) विज्ञापनः हजार रुपैयाँ
ड) फोटोः २ सय ५० रुपैयाँ
कुल लागत १ लाख ३२ हजार ७ सय ५४ रुपैयाँ (यसमा हवाई भाडा र सेवा शुल्कको रकम घटबढ हुन सक्ने छ)

तपाइँको प्रतिक्रिया