शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ००:०३ |सिड्नीको समय: २२:०३ |काठमाडौंको समय: १७:४८

मदन पुरस्कार बिजेता शाहलाई जेल सजाय, सय जनाको तलब भत्ता आफैँले बुझेको प्रमाण

एएनजेड खबरजनवरी ११, २०२४

काठमाडौं । विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । बुधबार शाहको मुद्धामा पूर्ण पाठ सार्वजनिक गर्दै भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय सुनाएको हो ।

विशेष अदालतका अनुसार मदन पुरस्कार बिजेता शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र सोही परिणामको जरिबाना तिराउन आदेश भएको छ ।

जागिरको अन्तिम समयमा शाह क्षेत्रीय तालिम प्रहरी केन्द्र दुधौलीको कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेकोमा दोषी ठहर भएका हुन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उक्त भ्रष्टाचार मुद्दाका चार आरोपीमध्ये शाह र नेपाल प्रहरीका पूर्व सई दिपेन्द्र पनेरुलाई पनि तीन वर्ष नै कैद सजाय सुनाएको छ ।

उनीबाट पनि १६ लाख ६९ हजार बिगो र त्यति नै रकम जरिवाना तिराउन फैसला सुनाइएको छ । सोही प्रकरणका आरोपितहरू लेखापाल संजीव विशुंखे र प्रहरी हवल्दार केशवसिंह ऐरीले भने विशेष अदालतबाट सफाई पाएका छन् ।

प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा २०७२ सालमा उनले नक्कली नाम बनाएर कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा चार वर्ष अघि भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

२०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक बनेका उनले तालिमे जवानको तलबमा हिनामिना गरेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो । सो प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धानलाई बुझाएपछि विशेष अदालतमा मुद्धा दायर गरेको थियो । त्यसबेला अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगको अनुसन्धानमा शाह सहितले २७ बैशाख २०७२ मा प्रहरी जवान पदमा नयाँ भर्ना भएर सोही वर्ष पुसमा तालिम समापन भएका १ सय ३ जनाको दुई महिना बराबरको तलब भत्ता आफैँले लिएको खुलेको जनाएको थियो । शाहले ‘छापामारको छोरो’ पुस्तकका लागि २०६३ सालको मदन पुरस्कार पाएका थिए।

तपाइँको प्रतिक्रिया