शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:०५ |सिड्नीको समय: १९:०५ |काठमाडौंको समय: १४:५०

राष्ट्रिय सभा निर्वाचन : मैदानमा गठबन्धन भर्सेस एमाले

एएनजेड खबरजनवरी २४, २०२४

काठमाडौँ । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।

निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गएराति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यस निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ ।

राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदैछ ।

निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् । एमाले एक्लै चुनावी मैदानमा छ । एमालेले १९ सिटमै उम्मेदवारी दिएको छ । शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सभामा एकसाथ अघि बढ्न एमाले र गठबन्धनका नेताहरुबिच पटक पटक भएको छलफल निष्कर्षमा नपुगेपछि गठबन्धन भर्सेस गठबन्धनका उम्मेदवार आमनेसामने भएका हुन् । तर गठबन्धनमै रहेका लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले सिट नपाएकाले केही असन्तुष्टि भने कायम छ ।

राष्ट्रिय सभा अध्यक्षका रुपमा हेरिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला विराटनगरमा उम्मेदवारी दर्ता गरेपछि पूर्वी नेपालको भ्रमणमा छन् । विभिन्न जिल्ला भ्रमणका क्रममा आइतबार इलामको फिक्कल पुगेका सिटौला उत्साहित थिए । ‘जीवनमा आठ पटक चुनाव लडिसक्नुभएका सिटौला दाईको मुहारमा चमक थियो । उत्साहित देखिनुहुन्थ्यो । आफूलाई भन्दापनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । संविधान कार्यान्वयनमा उहाँको जोड थियो,’स्थानीय एक नेताले भने ।

युवाहरुको प्रतिनिधित्व गर्दै वागमती प्रदेशबाट उम्मेदवार बनेका कांग्रेस नेता जीतजंग बस्नेतको चुनावी अभियानमा जुटेका युवाहरुको अभिव्यक्ति सुन्दापनि गठबन्धनका उम्मेदवारहरुमा उत्साह रहेको अनुमान लगाउन सकिन्छ । गठबन्धनका उम्मेदवारहरुको संयुक्त पोष्टर बनाएर सामाजिक संजालमा क्याम्पेनिङ पनि शुरु भइसकेको छ । एमाले उम्मेदवारहरुले पनि चुनावी अभियानलाई तिब्रता दिइरहेका छन् ।

निर्वाचनको अंकगणित हेर्दा एमालेले रिक्त रहेका ८ वटै सिट गुमाउने देखिएको छ । किनकी यतिबेला १७ सांसद एमालेका छन् । सत्ता गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले एमालेले आफ्नो हालको हैसियत गुमाउने निश्चित छ । यद्यपी, मतभारको अवस्था मूल्याकंन गरेका गठबन्धनका उम्मेदवारहरु उत्साहित छन् । निर्वाचनमा ५ सय ४९ प्रदेश सभा सदस्य तथा स्थानीय तहका १४ सय ९८ प्रतिनिधि गरी २ हजार ४७ जनाले मतदान गर्दैछन् ।

स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुन्छन् । जसका लागि निर्वाचन आयोगले प्रदेशसभाका एक सदस्य बराबर ५३ र स्थानीय तहका एक प्रतिनिधि बराबर १९ मतभार कायम गरेको छ । यस हिसाबले प्रदेशसभा सदस्यको २९ हजार ९७ र स्थानीय तहका प्रतिनिधिको २८ हजार ४ सय ६२ गरी ५७ हजार ५ सय ५९ कुल मतभार कायम भएको छ । मतभारको अंकगणित अनुसार एमाले सबै प्रदेशमा कमजोर देखिएको छ ।

गठबन्धनका दलहरुको मतभार ३८ हजार २ सय १० हुँदा एमालेको १७ हजार २६ मात्रै छ । कोशी प्रदेशमा पहिलो शक्ति भएको एमाले मतभारका हिसाबले गठबन्धन भन्दा पछाडि नै छ । कोशीमा गठबन्धनको ५४ सय ७४ मतभार रहँदा एमालेको ४२ सय १० छ ।

मधेशको मतभारमा एमाले गठबन्धनभन्दा ५६ सय ७७ मतले पछाडि छ । मधेशमा गठबन्धनको ७ हजार ९ सय ८० तथा एमालेको २३ सय ३ मतभार छ । बागमतीमा गठबन्धनको ६ हजार ७ सय ५१ तथा एमालेको २५ सय ७१ र गण्डकीमा गठबन्धनको ४६ सय २२ तथा एमालेको २४ सय ५८ मतभार छ ।

लुम्बिनीमा भने गठबन्धनको ५३ सय ७१ रहँदा एमालेको २८ सय १०, कर्णालीमा गठबन्धनको ३७ सय ७ तथा एमालेको ११ सय ९५ र सुदूरपश्चिममा सत्ता गठबन्धनको ४५ सय १० तथा एमालेको १४ सय ८० मतभार छ । यो सबै मतभार मूल्याकंन गर्दा १९ वटै सिटमा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

तपाइँको प्रतिक्रिया