बुधबार, जेठ २, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: १४:३५ |सिड्नीको समय: १२:३५ |काठमाडौंको समय: ०८:२०

इलाम २ को उपनिर्वाचनमा एमालेबाट सुहाङ नेम्वाङ, झलनाथको चर्चा सेलायो

एएनजेड खबरमार्च २४, २०२४

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सुवाष नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त थियो । साथै बझाङ प्रदेश-१ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । आगामी वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ ।

योसँगै नयाँ सत्तागठबन्धनबाट आफू उम्मेदवार हुन पाइन्छ कि भनेर च्याँखे दाउ थापेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको चर्चा पनि टुंगिएको छ । यसबाट उनको दौडधूप व्यर्थ भएको छ ।

यता नयाँ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने पनि छ । हुनत रास्वपाका नेताहरु उम्मेदवार खडा गर्ने भनिरहेका छन् । तर रास्वपा सभापति रवि लामिछानेको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकै नै राम्रो कुम मिलेकाले आफ्ना आकांक्षीलाई पछाडि बस्न आग्रह गर्न सक्ने पनि बुझिन्छ ।

सुस्त रहेको नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको तय गरेको छैन । आधा दर्जन आकांक्षी रहेका छन् ।

तपाइँको प्रतिक्रिया