बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १६:२३ |सिड्नीको समय: १४:२३ |काठमाडौंको समय: १०:०८

सिड्नीको चक्कु प्रकरण : हमलाकारीलाई गोली हान्ने महिला प्रहरी ‘राष्ट्रिय नायक’

एएनजेड खबरअप्रिल १४, २०२४

सिड्नी । सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाएर एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अष्ट्रेलियाली प्रहरीले बताएको छ । ती महिलालाई राष्ट्रिय नायकका रूपमा प्रशंसा गरिएको छ ।

आक्रमणकारीलाई गोली हान्ने प्रहरी अधिकारी एक्लै थिइन्। उनलाई प्रधानमन्त्री एन्टोनी अल्बानिजले ‘नायक’ भनेका छन्। उनले कयौँको ज्यान बचाएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

घटना विशाल वेस्टफिल्ड बन्डी जङ्क्सन मल परिसरमा भएको थियो । उक्त मल शनिबार दिउँसो हजारौँ खरिदकर्ताहरूको भीडले भरिएको थियो । न्यु साउथ वेल्सका प्रहरी आयुक्त क्यारेन वेबले पाँच महिला र एक पुरुषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार एक बालकको आपत्कालीन शल्यक्रिया भइरहेको थियो ।

प्रहरीले हमलाकारी ४० वर्षीय व्यक्ति रहेको बताएको छ । यद्यपि अहिलेसम्म उसको औपचारिकरूपमा पहिचान गर्न सकिएको छैन । हमला आतङ्कवादी कार्य थियो भन्ने कुरालाई वेबले अस्वीकार गर्दै हमलाकारी एक्लैले यस्तो कार्य गरेको मान्न सकिने बताए। ‘यदि यो हामीले विश्वास गर्ने व्यक्ति हो भने यो आतङ्कवादी घटना होइन’, उनले भने ।

न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले आठ घाइतेलाई सिड्नीका विभिन्न अस्पतालमा पुर्याइएको जानकारी दिए । तीमध्ये एक बालकलाई सहरको बाल अस्पतालमा लगिएको थियो । प्रवक्ताले भने, ‘सबैलाई गम्भीर चोट लागेको छ ।’

सुरक्षा क्यामेराको फुटेजमा अस्ट्रेलियाली रग्बी लिगको जर्सी लगाएका एक व्यक्तिलाई चक्कु लिएर सपिङ सेन्टरको चारैतिर दौडिरहेको देखाइएको छ । रगतले लतपतिएका घाइतेहरू भुइँमा लडिरहेका थिए ।

प्रत्यक्षदर्शीहरूले आतङ्कको दृश्य वर्णन गरेका छन् । उनीहरूका अनुसार पसलहरू सुरक्षाका लागि दौडिरहेका थिए भने प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित पार्ने प्रयास गरिरहेको थियो । केही मानिसले स्वयंलाई र आफ्ना परिवारलाई डरलाग्दो अपरिचितबाट बचाउन पसलहरूमा शरण लिइरहेका थिए ।

तपाइँको प्रतिक्रिया