बिहीबार, जेठ ३, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०२:२४ |सिड्नीको समय: ००:२४ |काठमाडौंको समय: २०:०९

माधवकुमार नेपाल अबको प्रधानमन्त्री !

एएनजेड खबरअप्रिल ३०, २०२४

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री नपाएको झ्वाँक पोखेका छन् । नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको बताएका छन् । उनले जसले जे भने पनि आफूहरूका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।

नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई हामीले धिक्कार छ भन्न चाहेको पनि बताए । उनले भने, ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ म भन्न चाहन्छु । त्यसो हुनाले परिस्थितिलाई हामीले आफ्नो अनुकूल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ ।’

नेपालका यि अभिव्यक्तिबाट विभिन्न आशंकाहरु जन्माएको छ । पछिल्लो पटक नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच देखिएको निकटताले सत्ता बाहिरिन सक्ने अनुमान लगाउन सकिन्छ । एमाले र माओवादी केन्द्रको गठबन्धन बनेयता उनीहरु दुई नेताबीच निकट सम्बन्ध बन्दै आएको छ । उपेन्द्र अमेरिका जानुअघि दुई नेताहरुबीच लामो संवाद भएको थियो । ‘माधव नेपाल निवास कोटेश्वरमै दुई नेताहरुबीच लामो संवाद भएको हो’, स्रोतले भन्यो । माओवादीले सुटुक्क एमाले अध्यक्ष केपी ओलीको साथ लिएदेखि नै एसका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव नजिक रहेका थिए ।

उनीहरुबीच सहकार्य गर्नै विषयमा पटक पटक छलफलसमेत भैसकेको अवस्थामा पछिल्लो पटक बैशाख १३ गते बिहीबार उनीहरुबीच भेटघाट भएको स्रोतले दाबी गरेको छ । यादव शुक्रबार बिहान अमेरिका उडेका थिए ।

कुनै बेला माओवादी केन्द्रीय कार्यालयले नेकपा एससँग पार्टी एकीकरणकै लागि वार्ता समितिसमेत बनाएको अवस्था थियो । २०७९ पुस २३ गते बसेको बैठकले अन्य दलहरुसँग एकता र सहकार्यका लागि भन्दै वार्ता टोली गठन गरेको थियो ।

त्यतिबेला जसपालाई पनि सहकार्य गर्न पार्टी एकीकरणकै प्रस्ताव राखेको माओवादी अहिले भने एस र जसपालाई छाडेर एमालेसँग नजिक हुन पुगेको छ । यस्तो अवस्थामा माधव नेपालले जसपा अध्यक्षलाई आफ्नो निकट राखेर एमाले लक्षित गाली गरिरहेका छन् । एमालेसँगै सत्ता सहकार्यमा रहे पनि माधव नेपालले ओलीलक्षित असन्तुष्टि पोखिरहेका छन् ।

नेपालले पनि देउवासँग समानान्तर संवादमा रहने नीति लिइरहेका छन् । यस्तै हो भने एमाले नेतृत्वले पनि माधव नेपाल अहिलेको सत्ता समीकरणबाट बाहिरिए राप्रपालाई ल्याउने सोच बनाइसकेको स्रोतले जनाएको छ ।

सरकारमा जसपा रहिरहे नेकपा एस बाहिर रहे राप्रपा आउँदा अहिलेको समीकरण रहिरहने एमाले नेतृत्वको सोच रहेको स्रोतले जनाएको छ । उता नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाख खतिवडाले पनि अपमानित भएर सरकारमा बसिरहनु पर्ने बाध्यता नभएको बताएका छन् ।

‘सम्मानित नभए अपमानित भएर हेपिएर पेलिएर सरकारमा बस्नुपर्छ भन्ने छैन’, उनले भने । उनका अनुसार अहिले एस पार्टी महाधिवेशनको तयारीमा लागेकाले सरकार फेर्ने वा नयाँ गठबन्धन बनाउने तर्फ लागेको छैन ।

तपाइँको प्रतिक्रिया