शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १५:५९ |सिड्नीको समय: १३:५९ |काठमाडौंको समय: ०९:४४

सामाजिक संजालमार्फत वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

एएनजेड खबरमे २, २०२४

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जाल, टेलिफोन, भाइबर र ह्वाट्सएपमा सन्देश पठाई बेरोजगार युवालाई प्रलोभनमा पारी दर्ता नभएका संस्था र परिचयै नखुलेका व्यक्ति वा समूहको प्रलोभनमा परी वैदेशिक रोजगारीका नाममा दैनिक सयौँ युवा ठगिने गर्ने क्रम बढ्दो छ ।

उपत्यका अराध अनुसन्धान कार्यालय अन्तर्गत वैदेशिक रोजगार ठगीविरुद्ध अनुसन्धान गर्ने पिलर नम्बर–८ का प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीका अनुसार सामाजिक सञ्जालमा देखिने सन्देशलाई सहजै विश्वास गरी अपरिचित व्यक्तिमार्फत ठगिनेको सङ्ख्या बढ्दो छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा वैदेशिक रोजगार ठगीका घटना झन्डै चार गुणाले बढेको देखाएको छ । आर्थिक वर्ष २०७८।७९ मा १२७ जना पीडितले आफू ठगिएको निवेदन दर्ता गराएका थिए । चालु आर्थिक वर्षको नौ महिनामा मात्र यसको सङ्ख्या बढेर ४५४ पुगेको छ । आव २०७८।७९ वैदेशिक रोजगारमा ठगी गर्ने १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा पाँच जना मात्र पक्राउ परेका थिए ।

चालु आवको नौ महिनामा मात्र ६७४ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी भएकामा २८५ जना आरोपी पक्राउ परेका छन् । पन्थीका अनुसार यस वर्ष मात्र दुई हजार १४२ जना पीडितको उजुरी सम्बोधन भई कानुनी प्रक्रिया अघि बढेको छ ।

मुलुकमा बढ्दो बेरोजगार समस्या र सूचना प्रविधिको विकास र सहज पहुँचका कारण एक देशमा बसेर अर्को देशका युवालाई प्रलोभनमा पार्ने र वैदेशिक रोजगारीका नाममा ठगी गर्ने क्रम बढ्दो छ । फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबरमार्फत आकर्षक भिडियो तथा अडियो सन्देश तयार गर्ने र रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दो छ ।

तपाइँको प्रतिक्रिया